Play

कोशी र मधेशमा जोखिम कायम तर काठमाडौँमा कम बर्षा हुने अनुमान, पश्चिम नेपालमा बर्षाको प्रभाव निकै कम

सरकारले पूर्वानुमानको आधारमा तयारी गर्ने हो, यातायात बन्द र सार्बजनिक बिदा सहितको बहुप्रचारको कारण पश्चिम नेपालका सर्बसाधारण आतंकित


गुरुकुल खबर


पोखरा, देशभर अति भारी बर्षासंगै बाढी र पहिरोको पूर्वानुमान गरिएपछि सरकारले गरेको बहुप्रचारका कारण एकातिर सरकारको अनुभूति भएको भन्दै प्रशंसा भैरहेको छ भने अर्कोतिर सरकारले नै आमसर्बसाधारणलाई आतंकित बनाइरहेको भन्दै आलोचना भैरहेको छ। बिशेष गरि काठमाडौँ सहित पुर्बी नेपालका बिभिन्न भागमा भारी बर्षा भएपनि गण्डकी प्रदेशको पोखरा लगायत पश्चिम नेपालमा भने खासै बर्षा भएन।

आइतबारदेखि त काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको र यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको मौसमविदहरुले जनाएका छन। यसलाई आधार मान्दा सरकारले पूर्वानुमानलाई आधार मानेर तयारीलाई प्रभावकारी बनाएपनि सरकारको बहुप्रचार र सार्बजनिक बिदा दिने निर्णयका बारेमा भने प्रश्न उठ्न लागेको छ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणले गरेको पूर्वानुमानमा देशभर भारी बर्षाहुने भएको भन्दै सरकारले लामोदुरिका यातायातका साधनमा रोक लगाउनुको साथै सोमबारसम्म देशभर सार्बजनिक बिदा समेत दिएको छ। यसबाहेक वर्षा र बाढी नआएका जिल्लाका प्रशासन कार्यालयले समेत यातायातमा रोक लगाउने निर्णय गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने मानिस लामो समयसम्म रोकिनुपर्ने समस्याबाट पिडित बन्न पुगे ।

दुई दिनमा बर्षा र बाढीमा १८ को मृत्यु 

पश्चिम नेपालमा बर्षा र जोखिम कम भए पनि पुर्बी नेपालमा भने बर्षा र बाढीको प्रकोप देखिएको छ अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो दुई दिन शनिबार र आइतबार गरी १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार  सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । त्यस्तै माङसेबुङ गाउँपालिका-१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र  इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ।

कोशी र मधेश प्रदेशमा केहि सडक अबरुद्ध 

बाढी पहिरोका कारण कोशी र मधेश प्रदेश सहित काठमाडौँ जोड्ने केहि सडक सञ्जाल अवरुद्ध भएको छ। यसबाट जनजीवन प्रभावित हुनुका साथै दैनिक उपभोग्य सामानको ढुवानीमा समेत समस्या आएको छ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–६ मेहेलेमा सडक पहिरोले अवरुद्ध भएको छ। त्यस्तै सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ माडीखोरला सडक,  सोलुखुम्बुको सदरमुकाम सडक खण्ड र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ बलुवामा सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।  सिरहाको सगरमाथा राजमार्गअन्तर्गत लहान–ठाडी सडक खण्ड, धनुषाको धनुषा–सिन्धुली सडक खण्ड र महोत्तरीको बर्दिवास–जनकपुर सडक खण्ड अवरुद्ध रहेका छन् ।

सरकार भएको अनुभुती गर्न पाइयो 

यसैबीच काठमाडौँमा बस्दै आएका लेखक तथा पत्रकार आश्विनी कोइरालाले आइतबार बिहान आंफ्नो फेसबुकवालमा लेखेका छन, “म काठमाडौको मूलपानीको मनोहरा खोलाको छेउमा बस्छु । हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुन्छ । पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भैरहन्छ । टोलका मान्छे रातभर जागा भएर आफ्नो सुरक्षा आफैं गर्नुपर्छ । तर यसपटक रातभर हामीसंग सरकारको पनि उपस्तिथि थियो । केही परे हामी छौँ भनेर सबै कुरा तयार अवस्थामा छ भनेर खबर आइरहेको थियो । घर छाड्नु परे हामीलाई राख्ने ठाउँको बन्दोबस्त छ भनेर सूचना पनि आइरहेको थियो । ३ बजेतिर म सुते !अहिले थाहा पाएँ सरकार रातभर जागा थियो । सरकार छ भन्ने महसुस गराउनु ठूलो कुरा हो । यो उमेरमा पहिलोपटक त्यो अनुभूति गरेको छु ।”

पूर्वानुमानलाई प्रमाणिक तथ्य जस्तो गरि प्रचार गर्दा सर्बसाधारण आतंकित 

कोइरालाको जस्तो भनाइ काठमाडौँका जोखिमग्रस्त क्षेत्रमा बसोबास गर्ने अधिकांशको रहेको छ। जसले सरकारको कामको प्रशंसा गरेको छन। तर, खासै बर्षा नभएका पोखरा लगायत पश्चिम नेपालका सर्बसाधारणले भने सरकारले पुर्बतयारी गर्नु राम्रो भएपनि अनाबश्यक रुपमा मौसमको नाममा आतंक फैलाएको टिप्पणी समेत गरिरहेका छन । सामाजिक संजालबाट भ्रम फैलाउने र सार्बजनिक बिदा दिने जस्ता कुराको बारेमा नागरिकको तहबाट प्रश्न समेत उठ्न थालेको छ।

कास्की जिल्ला प्रशासन कार्यालयले असोज १६ गते साँझ कास्की जिल्ला सहित छिमेकी जिल्लाबाट पोखरामा आउने सवारी साधनमा समेत रोक लगाउने निर्देशन जारी गर्यो ।  त्यस लगत्तै पोखरामा पर्यटन ब्यबसायमा सक्रिय युवा गणेशबहादुर थापाले आफ्नो फेसबुकवालमा पर्यटन ब्यबसायको लागि आतंकबादीको जस्तो काम सरकारी निकायबाट भएको भन्दै आलोचना गरे।  उनले शुक्रबार साँझ लेखेको स्टेटसमा ‘मौसमसम्बन्धि पूर्वानुमानलाई प्रमाणिक तथ्यजस्तै गरेर सरकार र मातहतका निकायले बहुप्रचार गर्दा मानिस आतङ्कित बनेको र थोपा पानी नपरेको पोखरामा घरमै सुरक्षित बस्न पनि मानिसहरु डराएको भन्दै सरकारी प्रचारले सर्बसाधारण आतंकित बनेको’ उल्लेख छ ।

कास्की जिल्ला प्रशासन कार्यालयले सार्बजनिक अपिल गर्दै असोज १७ गते शुक्रबार देखि असोज २० गते सोमबारसम्म कास्की जिल्लासहित छिमेकी जिल्लाबाट समेत यातायातमा रोक लगाएको जानकारी गराएको थियो।  दशैंको टिकाको दिनमा नै सरकारको उक्त सूचना सार्बजनिक भएपछि पोखरामा होटल तथा पर्यटन ब्यबसायमा संलग्न सबैजसो चिन्तित बनेका थिए।

पोखराको पर्यटन व्यवसायमा गम्भीर असर 

बिगतका बर्षहरुमा दशैंको आगमनसंगै पोखरामा स्वदेशी र बिदेशी पर्यटकहरुको आगमन उच्च रहँदै आएकोमा यस पटक भने भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको प्रदर्शनमा आगजनी तोडफोड र लुटपाटको घटनाका कारण बिदेशी पर्यटकको आगमन अत्यन्त न्यून बनेको छ।  यसका साथै दशैंको टिका पछाडीका दिनहरुमा पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकहरुको चहलपहल निकै बढ्ने गरेकोमा यसपटक भने मौसमको पूर्वानुमानसंगै सरकारले यातायातमा लगाएको रोक र जोखिमको उच्च सम्भावना भनि गरिएको प्रचारको कारण पोखरामा आन्तरिक एबम बाह्य पर्यटकको आगमन करिब सुन्य जस्तै हुनपुग्यो।

मौसमको पूर्वानुमान र त्यसपछि कास्की प्रशासनको सार्बजनिक अपिल पछि पर्यटन ब्यबसायी थापाले लेखेका छन। “गयो पर्यटन.. पोखराको पर्यटन व्यवसायीका लागि यो भन्दा ठुलो आतङ्कवाद के हुन्छ ? प्रमाणित गर्न नसक्ने तथ्यका आधारमा जिल्ला प्रशाशन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले मिति २०८२/०६/१६ गते सार्वजनिक गरेको ट्राभल एडभाइजरीले दशैदेखि पुर्णिमासम्म पोखरामा आउने पर्यटकलाई रोकिदिएको छ । मौसम पुर्वानुमानलाई प्रमाणित तथ्य मानेर व्यवसायीलाई क्षति र जनतालाई भ्रम सृजना हुनेगरि सुचनाको सम्प्रेषण गर्नु कुन तहसम्मको अपराध हो ? छानविन हुन जरुरी छ । यस्ता तथ्यहिन सुचनाले भविष्यमा प्रोत्साहन पाउनुहुदैन।”

कानुन ब्यबसायी समेत रहेका ब्यबसायी थापाले ‘राज्यले सर्बसाधारणको लागि कुनै पनि सेवा बन्द गर्दा प्रभावित जनतालाई क्षतिपूर्ति दिनुपर्ने अन्य मुलुकको जस्तो नितिगत व्यवस्थाबारे जानकारी होला कि नहोला ?’ भन्ने प्रश्न समेत उठाएका छन ।

यसैगरी आफ्नो सामाजिक संजाल फेसबुक मार्फत निरन्तर पोखराको सुन्दरताको चर्चा गर्दै आन्तरिक एबम बाह्य पर्यटकहरुलाई पोखरा घुम्नको लागि आउन आग्रह गरिरहने अर्का युवा ब्यबसायी सन्तोष पोखरेलले बारम्बार पोखरा आउने सडकको अबस्था बारेमा जानकारी दिने गरेका थिए।  सरकारले लामो दुरीको यातायातमा रोक लगाउने निर्णय सार्बजनिक गरेपनि उनले शनिबार बिहान राजमार्गको अबस्थालाई लिएर कुप्रचार नगर्न समेत सबैसंग आग्रह गरिरहेका थिए।

सामाजिक संजालमा अन्य कुनै स्थानको पुरानो तस्बिर राखेर ‘पहिरोका कारण सडकको लामो भाग पुरै नदीमा खसेकोले नारायणगढ- मुग्लिंग र नागढुंगा – मुग्लिंग सडक पूर्ण अबरुद्ध बनेको’ भन्दै अरुले सामाजिक संजालमा गरेको प्रचारलाई खण्डन गर्दै ब्यबसायी पोखरेलले शनिबार बिहान आफ्नो फेसबुकमा लेखे। “वास्तबमा अहिलेसम्म चितवन- पोखरा बाटो खुला छ, मनपरि फोटो, भ्रामक समाचार, अनि सर्बसाधारणले के पत्याउने ? यी पत्रुकार हुन कि पत्रकार ? तीन घण्टा अगाडि पोष्ट भएको यो समाचार, अनि फोटो। यो नितान्त गलत हो। बिहान ७ बजेदेखी अहिले १०.३० बजेसम्म यो बाटो कहि पनि केही अवरोध थिएन। तर सकेसम्म यो बेला यात्रा नगरेकै राम्रो।”

त्यस अगाडी पनि उनले बारम्बार पोखरा आउने सडकको बारेमा फेसबुकमा निरन्तर जानकारी दिंदै आएका थिए।  ‘पोखरा – चितवन सडक अहिले बिहान ७.३० देखि १० बजेसम्म बाटो क्लियर छ। पानी परिरहेको छ, भगवानको कृपा..अहिलेसम्म कहि पनि केही रोकावट छैन। तर, मौसम खराव छ, सरकारले सचेत गराइरहेको छ, प्रहरीलाइ धन्यवाद, जताततै प्रहरीले एनाउन्समेन्ट गरिरहेको छ। तुइन खोलामा पनि प्रहरी र डोजर स्ट्याण्डबाई रहेछ। जाम पनि छैन, डिस्ट्रब पनि छैन।”

यस पटक सरकार छ भन्ने अनुभूति भएको भन्ने केहिको भनाईमा प्रतिक्रिया दिंदै पोखरेलले आइतबार बिहान पनि आफ्नो फेसबुकमा लेखेका छन, “हो, हामिले धेरै आशा गरेकै छैनौ। सरकार छ भन्ने अनुभुती गर्न पाइयोस। हामिले तिरेको कर सहि ठाउँमा सदुपयोग होस ।” बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका पोखरेलले यसैबीचमा पनि “पोखरा मुग्लिंग सडक राम्रो, चिल्लो सडकमा स्पिड गाडी तर सडकमा छाडा कुकुरको कारण दुर्घटनाको खतरा” भन्दै छाडा कुकुर नियन्त्रणमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन।

काठमाडौँमा ठुलो बर्षाको संकट टरेको मौसमविदको भनाई 

यता सरकारको व्यापक तयारी भैरहंदा पोखरा र पश्चिम नेपालमा बर्षा र बाढी पहिरोको खासै प्रभाव नदेखिएको अबस्थामा काठमाडौंमा पनि ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताउन थालेका छन् । विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको र ठूलो पानी पर्ने संकट अब टरेको बताए ।

मधेश प्रदेशमा अझै पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको भन्दै उनले अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ । त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै-कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने उनको भनाई छ ।

‘आजको हकमा इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा आइसोलेटेड रुपमा भारी वर्षाको सम्भावना देखिन्छ,’ अर्यालले भने, ‘तर त्यो पनि दिउँसोबाट मत्थर हुँदै जाने छ ।’ गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३ सय ५१ मिलिमिटर मापन भएको छ ।

‘रे’ को कुरालाई आधार मानेर गरेको निर्णय के हुने  ?

मौसमविदले ठुलो पानि पर्ने सम्भावना कम रहेको बताएपछि ब्यबसायी गणेश थापाले आंफ्नो फेसबुकमा बिज्ञका ‘रे’ को कुरालाई आधार मानेर सरकारले दिएको दुई दिनको साबजनिक बिदा के हुन्छ भन्दै प्रश्न समेत गरेका छन।  उनले लेखेका छन ‘सोचे जस्तो भारी बर्षा भएन अरे, बादल भए पनि बर्षा भएन अरे, बर्षा हुन्छ भनेको स्थानमा आज घाम पनि लाग्न सक्छ अरे- मौसमविदले रेडियोमा भनेको कुरा । यस्ता विज्ञका अरेका कुराले सरकारको दिएको दुई दिने विदा के हुन्छ, अब ?

हुन त ज्योतिष हरिहर अधिकारीले पनि जल तथा मौसम बिज्ञान विभागले गरेको पूर्वानुमान अनुसार क्षती धेरै नहुने किसिमको प्रतिक्रिया सार्बजनिक गरेको थिए । ज्योतिषशास्त्र अनुसार खासै त्यस्तो नदेखिने र मौसम विभागको कुरा त्यति नमिल्ने किसिमको भविष्यवाणी लेखेपछि उनीमाथि चर्को आलोचना र गालि बर्षिएको थियो। त्यसपछि उनले सार्बजनिक रुपमा माफि समेत मागेका छन ।

१९ आश्विन २०८२, आईतवार १०:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा