पोखरा, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा पोखराको बिभिन्न सार्बजनिक एबम सरकारी संरचनासहित निजि भवन र संरचनामा पनि प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गर्ने क्रमलाई निरन्तरता दिएका थिए। आन्दोलनकारीहरुले आगजनी र तोडफोड तथा लुटपाट गरेका बिभिन्न संरचनाहरु मध्ये पोखराको नदीपुरमा रहेको प्रहरी चौकीको रंगरोगन र मरमतको लागि लायन्स क्लब अफ पोखरा लेकसिटी स्पाउस ग्रुपले आर्थिक सहयोग गरेको छ।
पोखराको पुरानो लायन्स क्लब पोखरा लेकसिटीका सदस्यहरुका श्रीमतीहरुको संलग्नतामा उक्त ग्रुप बनेको हो। ग्रुपमा आबद्द महिलाहरुले पोखरा महानगरपालिका -३ नदीपुरस्थित प्रहरी चौकीको भवनको मर्मत एबम रंगरोगनको लागि करिब ६० हजार रुपैया हस्तान्तरण गरेको ग्रुपकी सदस्य उर्मिला बस्नेतले गुरुकुल खबरलाई जानकारी दिईन ।
उक्त ग्रुपले ५६ हजार ४ सय २९ रुपैया बराबरको रंगरोगन प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक दीपा आलेलाई हस्तान्तरण गरेको हो । युनाईटेड क्लब नदिपुरका अध्यक्ष नविन आलेसहित स्थानीय सर्बसाधारण समेतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको ग्रुपका सदस्य बिमला श्रेष्ठले जानकारी दिईन् ।
ग्रुपमा आबद्द रहेका महिलाहरुले स्वतस्फुर्त रुपमा सहयोग रकम संकलन गरेर प्रहरी चौकीलाई नगद एबम जिन्सी हस्तान्तरण गरेका थिए। उक्त ग्रुपमा ४२ जना महिलाहरु आबद्द रहेपनि बस्नेत सहित बिमला श्रेष्ठ, दुर्गा मर्सानी, निता बुद्धाचार्य, शुभद्रा श्रेष्ठ, निरा थापा, पूर्णलक्ष्मी द्वा लगायतका सदस्यहरु प्रहरी चौकीमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
पोखरामा आन्दोलनका क्रममा आगजनी गरिएका र तोडफोड गरिएका सार्बजनिक एबम सरकारी कार्यालयलाई सामान्य अबस्थामा ल्याएर नियमित रुपमा काम गर्न मिल्ने बनाउनको लागि बिभिन्न व्यक्ति र संस्थाको तर्फबाट आर्थिक एबम जिन्सी सहयोग जुट्दै आएको छ।
पोखरामा जिल्ला प्रहरी कार्यालय सहित बिभिन्न स्थानका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय सहित बिभिन्न सरकारी कार्यालय र पोखरा महानगर पालिकाको न्युरोड स्थित कार्यालय र बिभिन्न वडा कार्यालयहरु सहित निजि घर र सम्पतिमाथि समेत आगजनी र लुटपाट गरिएको थियो।