काठमाडौं, नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताएका छन । स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘वर्तमान संकट र समाधान’ विषयक विमर्श कार्यक्रममा बोल्दै नेता महरले अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्नु अहिलेको आबश्यकता रहेकोमा जोड दिए
उनले निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनुपर्ने वा संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने खाँचो औंल्याए । महरले भने”आजको प्रमुख विषय भनेकै अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमबाट नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयमा राष्ट्रिय संवाद गरेर निष्कर्षमा पुग्नु नै हो ।”
कांग्रेस नेता महरले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गर्दै एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य भएको र अर्कोतिर महँगी एबम आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बन्दै गएको स्पष्ट पारे यस्तो अवस्थामा राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर बन्दा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो । उनको भनाई थियो ।
महरले जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न साथै जेनजी युवा पुस्ताले खोजेको सुशासन स्थापनाका लागि भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्नेमा जोड दिए । “भ्रष्टाचार देशको सबैभन्दा ठूलो शत्रु हो, जबसम्म यसलाई जरैदेखि उखेल्न सकिँदैन, तबसम्म राष्ट्र निर्माणको कुरा गर्नु निरर्थक हुन्छ,” उनले भने।
महरले लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकार प्रमुख सहित सबै राजनीतिक दलहरूलाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने र फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने बताए ।

















