पोखरा, नेपालीहरुको महान पर्ब दशैं नजिकिंदै गरेको कारण सर्बसाधारणहरुको चहलपहल बढ्दै गएको भएपनि देशका विभिन्न पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको कारण सर्बसाधारण र यात्रुहरु समस्यामा परेका छन । नेपाल प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार पहिरोका कारण नारायणगढ – मुग्लिन सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध रहेको छ भने देशका बिभिन्न पांचवटा सडक अबरुद्ध हुन पुगेका छन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा उक्त पहिरो जाने क्रम निरन्तर जस्तै चलिरहेको छ ।
उक्त सडकमा निरन्तर पहिलो आएपछि चितवनबाट काठमाडौँ र पोखरातर्फ जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। तर, पनि ठुला सवारीसाधन भने बैकल्पिक सडकमा सञ्चालन गर्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार ठुला सवारीसाधनलाई मुग्लिङ–नारायणगढको बाटोको विकल्प छैन, साना भने चितवनको शक्तिखोर–फिसलिङ हुँदै काठमाडौँ जान सक्छन।
यस सडकखण्डमा स्कोरपियो, जिप, मोटरसाइकल, भ्यानलगायतका साधन चल्न सक्छन् । ४० किलोमिटर दुरीको यो सडकबाट पूर्वी चितवनको टाँडीबाट शक्तिखोर हुँदै मायाटार इच्छाकामना भएर पृथ्वी राजमार्गको फिसलिङ जान सकिन्छ। यो सडकबाहेक मकवानपुरको त्रिभुवन राजपथ (बाइरोडको बाटो), बल्खु, दक्षिणकाली, सिस्नेरीलगायतको सडक पनि प्रयोग गर्न सकिन्छ ।
यसैगरी चितवनबाट पोखरातर्फ आवतजावत गर्नको लागि नवलपुरको गैँडाकोटबाट कालीगण्डकी कोरिडोर हुँदै डेडगाउँ, कोलादीघाट, भीमाद भएर तनहुँ निस्किन सकिन्छ । डिभिजन सडक कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठका अनुसार साना सवारीसाधनले मुग्लिङको पहिरोका कारण रोकिएर बस्न पर्दैन । कालीगण्डकी कोरिडोर हुँदै पाल्पा रामपुर भएर सिद्धार्थ राजमार्ग जोडिएर पनि पोखरा जान सकिने जानकारी दिंदै उनले उक्त सडकमा धेरै स्थानमा कालोपत्रे भएकाले साना सवारीसाधन सञ्चालनमा खासै समस्या छैन ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी तुइनखोलाको पहिरो पन्छाउन समय लाग्ने भएकाले केही दिन वैकल्पिक राजमार्ग प्रयोग गर्न सूचना प्रकाशित गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठुलो पहिरो आएकाले कहिले सञ्चालनमा आउँछ भन्न सकिने अवस्था नरहेको बताए सकेसम्म छिटो पन्छाएर सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनको भनाई छ ।
डिभिजन सडक कार्यालयका अनुसार १४ हजार घनमिटरभन्दा धेरै पहिरो थुप्रिएको कारण पन्छाउन कति समय लाग्छ भन्ने अनुमान समेत गर्न सकिने अबस्था छैन । “सडकमा अहिलेसम्मकै ठुलो पहिरो आएको छ, पन्छाउने कामलाई निरन्तरता दिएका छौँ तर कति समयमा सकिन्छ भन्न सकिँदैन ।” पहिरो आएलगत्तै प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी प्रमुख गोविन्द पुरीसहितको टोलीले मुग्लिङतर्फ जाँदै गरेका यात्रुलाई फर्काएर नारायणगढमै पठाएको थियो ।
यसैगरी कालिगण्डकी करिडोर, नवलपरासी स्थित पूर्व–पश्चिम राजमार्ग पनि एकतर्फी रुपमा मात्र सञ्चालनमा रहेका छन् । यात्रा गर्नु पूर्व सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
प्रहरीका अनुसार सङ्खुवासभामा अविरल वर्षाका कारण भाटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरो गएको कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यता रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल भत्किँदा गल्छीदेखि मैलुङ रसुवा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ। रुकुम पूर्वीमा पहिरोका कारण भूमे गाउँपालिका–४ काँडाबगर स्थित मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।