पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा नेकपा एमालेको केन्द्रीय कार्यालय सहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको एमालेले जनाएको छ । त्यस्तै सो पार्टीका नेता र कार्यकर्ताका १ सय ५८ वटा भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको उल्लेख गरिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको जनाएका छन ।
प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको तथा पार्टीका नेता र कार्यकर्ताका १ सय ५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको महासचिब पोखरेलले जानकारी दिएका छन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले आगजनी र तोडफोड भएका अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको बताए। उनले आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेको समेत उल्लेख गरेका छन् ।














