पोखरा, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहित करिब ४० जना केन्द्रीय नेताहरु र करिब १ सय जना स्थानीय तथा जिल्ला नेताहरुको घरमा आगजनी गरिएको कांग्रेसले जनाएको छ। यसैगरी नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको साथै बिभिन्न जिल्लाका ४८ वटा कार्यालयमा आगजनी गरिएको नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
आन्दोलनकारीहरुको आक्रमणमा परेका कांग्रेस सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु देउवा गम्भीर घाइते भएको छन। उनिहरुलाई सुरक्षाकर्मीहरुको सहयोगमा हेलिकप्टरबाट उद्वार गरेर नेपाली सेनाको अस्पतालमा उपचार भैरहेको छ। उनको टाउको र गर्धनमा १२ वटा टाँका लगाइएको छ। अन्य नेताहरु माथि भने देउवा दम्पतिमाथि जस्तो सांघातिक आक्रमण नभएको कांग्रेसले जनाएको छ।

प्रचार बिभाग प्रमुख बिश्वकर्माले सार्बजनिक गरेको विवरणका अनुसार सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतमा रहेको घर, महामन्त्री गगन थापाको काठमाडौँ रातोपुलमा रहेको घर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको डेरा र झापामा रहेको घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारामा रहेको घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषामा रहेको घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको काठमाडौँमा रहेको डेरामा रहेका सामान तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनमा रहेका दुई घर जलाइएको उल्लेख छ ।
यसैगरी आन्दोलनकारीहरूले पूर्व उपसभापतिहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालाका घर पनि जलाएर ध्वस्त पारेका विवरणमा उल्लेख छ ।

पूर्वसहमहामन्त्रीहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महतको साथै केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा.गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको घरमा पनि आगजनी र तोडफोड गरिएको बताइएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बाग्मतीका मुख्य मन्त्री इन्द्र बानिया र पार्टीको मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको घर जेनजी आन्दोलनका क्रममा जलाइएको कांग्रेसले जनाएको छ । त्यस्तै जिल्ला तथा स्थानीय तहका करिब १ सयजना नेताको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको कांग्रेसले जनाएको छ ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको साथै बिभिन्न जिल्लास्थित ४८ वटा कार्यालयमा समेत आगजनी गरेर ध्वस्त बनाइएको छ । पार्टीका प्रचार विभाग प्रमुख विश्वकर्माले सार्बजनिक गरेको सूचीमा पार्टीको झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन् ।

यसैगरी सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँकेका पार्टी कार्यालय जलाइएका छन् । त्यस्तै बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली कार्यालयमा पनि आगजनी गरेर ध्वस्त बनाइएको छ ।














