पोखरा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनको बिचमा बिहिबार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेकी थिईन । त्यस अबसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बुझिएको छ ।
यसैगरी अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि बिहिबार नै शिष्टाचार भेटवार्ता गरेका छन।भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउंदै आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले जानकारी दिएका छन ।

प्रधानमन्त्री कार्कीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबिचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । चीन–नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने स्पष्ट गर्दै उनले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताए ।
यसैगरी प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बिहिबार फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएको र भारतीय प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने स्पष्ट पारेका थिए ।

छिमेकी दुई देशका सरकार प्रमुखहरूबिच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका प्रधानमन्त्री मोदीले शुक्रबार नेपालले मनाउने संविधान दिवसको शुभकामना समेत दिएका छन ।














