पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले घुसपैठ गरेर विनाश फैलाउने असामाजिक समूहहरूले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेका कारण जनधनको ठूलो क्षति भएको भन्दै पोखरामा भएको जनधनको क्षतिप्रति महानगर प्रमुखका हैसियतले गहिरो दुःख प्रकट गरेका छन। आन्दोलनको समयमा दुबईको भ्रमणमा रहेका मेयर आचार्यले नेपाल फर्किएपछि उक्त प्रतिक्रिया सार्बजनिक गरेका हुन्।
जेनजी पुस्ताको आन्दोलनका नाममा भएको प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाको कार्यालय सहित बिभिन्न वडा कार्यालयहरु र महानगर प्रमुख आचार्यको निजि घरमा समेत तोडफोड, आगजनी र लुटपाटमा परेपछि प्रमुख आचार्यले आंफ्नो फेसबुकमा प्रतिक्रिया राख्दै सम्पूर्ण क्षतिको विवरण प्रशासनतर्फबाट संकलन भइरहेको जानकारी समेत दिएका छन।
पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बसेर नगरवासीका अत्यावश्यक सेवाहरूलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरिने जानकारी दिंदै आचार्यले सबै नगरवासीहरूलाई धैर्यपूर्वक साथ दिन समेत अनुरोध गरेका छन ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले आंफ्नो फेसबुकमा लेखेको कुरा यस्तो छ ।

आदरणीय महानगरवासी बुवा आमा दाजुभाइ दिदीबहिनी हरु नमस्कार !
हालै भएको जेन-जि आन्दोलनका क्रममा दिवंगत भएका प्रिय भाई-बहिनीहरूप्रति म भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। देशले आफ्ना सपना बोकेका असंख्य आँखाहरू गुमाएको यो पीडामा मेरो मन असाध्यै भारी भएको छ। साथै उक्त जेन-जि आन्दोलनका क्रममा घाइते हुनु भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरुआत भएको छ। नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक अवसरमा म सम्माननीय प्रधानमन्त्री श्रीमती शुशिला कार्कीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
भ्रष्टाचारविरुद्धको जेन-जि आन्दोलनप्रति मेरो अटल ऐक्यबद्धता छ। तर, घुसपैठ गरेर विनाश फैलाउने असामाजिक समूहहरूले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेका छन्, जसको परिणामस्वरूप जनधनको ठूलो क्षति भएको छ।पोखरामा भएको जनधनको क्षतिप्रति महानगर प्रमुखका हैसियतले म गहिरो दुःख प्रकट गर्दछु।

जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारका सम्पूर्ण कार्यालय तथा नागरिकका महत्त्वपूर्ण कागजात भएका कार्यालयहरूमा गरिएको आगजनी र विनाश आन्दोलनकारी युवाभन्दा बाहिरी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य हामीसँग छ। यस सम्पूर्ण क्षतिको विवरण प्रशासनतर्फबाट संकलन भइरहेको छ।
आज पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बसेर नगरवासीका अत्यावश्यक सेवाहरूलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरिँदैछ। यस कठिन परिस्थितिमा सम्पूर्ण नगरवासीहरूलाई धैर्यपूर्वक साथ दिन हार्दिक अनुरोध गर्दछु।
म बस्दै आएको मेरो निवास आजभन्दा २० वर्षअघि निर्माण गरिएको हो ।आन्दोलन चलेको बेला पारेर स्वार्थ बोकेर आएका घुसपैठीहरूले हाम्रो घर ध्वस्त पारिदिए । यस विषयमा कडाइका साथ स्पष्ट अभिव्यक्ति गर्न चाहन्छु कि म महानगर प्रमुख बनेपछि मैले कुनै आर्थिक लाभ लिएको छैन। मेरो नाममा आउने मासिक सुविधा समेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको तथ्य जगजाहेर छ। म विगत ३३ वर्षदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति हुँ, मेरो जीवन पोखरेलीहरूसामु सधैं खुला किताबझैं छ।

३ वर्ष महानगरको नेतृत्व गरिरहँदा मैले कुनै अनैतिक कार्य गरेको छैन। केही स्वार्थी समूहहरूले आफ्ना गलत काम नगरिदिएको कारण तथा निहित स्वार्थका आधारमा म र मेरो परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने र मानसिक यातना दिने कार्य भइरहेको तथ्यप्रति म पूर्ण रूपमा सजग छु।
मैले आजसम्म कसैको कुभलो गरेको छैन, भविष्यमा पनि गर्ने छैन। तर, जसले यस विनाशकारी घटनाको योजना बनाए, साथ दिए वा आगजनी, तोडफोड मात्र नभई लुटपाटसम्ममा संलग्न भए—तिनीहरूलाई यस्ता गलत बाटो र अनुचित कार्यमार्फत मात्र बाँचिरहन परिरहोस भन्ने प्रार्थना गर्न सक्छु। किनकि सत्यलाई कहिल्यै दबाउन वा रोक्न सकिँदैन, सत्य सधैं सत्यकै रूपमा रहन्छ।
यस कठिन समयमा मसँग देखाइएको सान्त्वना, सद्भाव र सहयोगका लागि सम्पूर्ण इष्टमित्र, साथीभाइ तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछु।
हामी सबैलाई थाहा छ- पृथ्वी गोलो छ!















