Play

कानुनी शासन र लोकतन्त्रको विकल्प छैन, लोकतन्त्रको भरपर्दो शक्ति कांग्रेस हो- प्रबक्ता डा. महत

गुरुकुल खबर


नेपाली कांग्रेसले मंगलवार एकैदिन भएको क्षती मुलुकमा १० वर्षे माओवादी द्वन्द्वको बेला भन्दा पनि धेरै भएको उल्लेख गर्दै अहिलेको घटनाले लगानीको बाताबरण बिग्रेको र यसको क्षतिपूर्ति गर्न वर्षौँ लाग्ने निश्चित रहेको जनाएको छ।  नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाश शरण महतको नामबाट जारी बिज्ञप्तीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ ।

कांग्रेस प्रबक्ता डा.महतले कानुनी शासन र लोकतन्त्रको विकल्प नरहेको स्पष्ट पार्दै नेपाली काँग्रेस नै लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति भएकोले लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि नेपाली काँग्रेस फेरि सक्रिय हुन आवश्यक रहेको स्मरण गराएका छन।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ प्रवक्ता डा. महतले विज्ञप्तिमा भनेका छन।  “म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यवसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु ।”

विज्ञप्तिमा देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको भन्दै महतले देश,जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्तो नचाहेको उल्लेख गरेका छन । उनले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको समेत उल्लेख गरेका छन् ।

प्रवक्ता डा. महतको विज्ञप्तिको पूर्णपाठ

हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।  धेरै युवाहरू र केही सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ, मृतकहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै विरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।

हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरण लाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।

प्रिय साथीहरू,

कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधान प्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनः स्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।

जय नेपाल !

डा प्रकाश शरण महत

प्रवक्ता

नेपाली कांग्रेस

२५ भाद्र २०८२, बुधबार २०:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा