Play

हेभी इक्युपमेन्ट संघ कास्कीको साधारणसभा: कार्यस्थलमा सुरक्षा र उद्वारको व्यवस्था गर्न सरकारसंग माग

गुरुकुल खबर


पोखरा, हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा उनीहरुले हेभी उपकरणहरु चलाउने चालक तथा सहचालकहरुको जीवनको सुरक्षा हुनुपर्ने कुराको माग गरेका छन ।

गण्डकी प्रदेश अपरेटर संघका महासचिव देवेन्द्र चोखालले सडक, पुल तथा हाइड्रोपावरको काम गर्दा सामान्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो गर्नुभयो । उहाँले अत्यन्त जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । “देशको विकासका लागि भनेर हामी ठूला इक्युपमेन्ट चलाउँदै आएका छौँ । तर कार्यस्थलमा हाम्रो जीवनको सुरक्षा छैन । अत्यन्त जोखिम मोलेर संवेदनशील ठाउँमा काम गर्नुपरेको छ।” चोखालले भने ।

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले आफ्नो पेशालाई इमानदारीका साथ कुशल ढंगबाट निर्माण कार्य तथा सामाजिक कार्य गर्दै आएपनि जीवनको कुनै सुरक्षा नभएको भन्दै चिन्ता ब्यक्त गरे । “हामी अपरेटरहरु देशको विकासका मेरुदण्ड हौँ, विकास गर्नका लागि भीर, पहाडसँग सिँगौरी खेलेका छौँ । हामीलाई अप्ठ्यारो पर्दा सरकारबाट कहिल्यै सहयोग पाउन सकेको छैनौं ।”

गौतमले राज्यद्धारा कानुनमा समावेश गरिएको अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हेभी इक्युपमेन्ट चालकहरुलाई समेत समावेश गर्न माग गरे । कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष जगत सिँखडाले अपरेटरहरु दुर्घटनामा पर्दा हेलिकप्टरबाट उद्धारको प्रवन्ध सरकारले गर्नुपर्नेबताए ।

उनले अत्यन्त जोखिम र संवेदशील पेशामा रहेका श्रमिक तथा मजदुरहरुको जीवनको सुरक्षा र परिवारको उचित प्रवन्ध हुनुपर्ने आवश्यकता औंल्याए। “अहिले गाउँ गाउँमा व्यक्ति व्यक्तिले डोजर र एक्साभेटर किनेका छन, तर त्यसका चालक तथा सहचालकको सुरक्षामा कोही पनि जिम्मेवार छैनन् । चालकले सुरक्षित महसुस गर्ने वातावरण बन्नुपर्छ ।”

समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ (एसआइटीयुसी) का अध्यक्ष नवराज दाहालले श्रमिकको मुद्धा र उनीहरुको उत्थानका लागि सबै एक ठाउँमा हुनुपर्ने कुरामा जोड दिए । नेपाल हेभी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोष श्रेष्ठले हेभी गाडीको सवारी लाइसेन्स पाउन अत्यन्त झन्झटिलो रहेकाले सहजीकरणका लागि सरकारसँग माग गरे । उनले अपरेटरहरुको हक हितका लागि सडक देखी सदनसम्म आवाज दिनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा समाजवादी स्वतन्त्र ट्रेड युनियनका प्रदेश संयोजक टिवी विश्वकर्मा (हिमाल), संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) गण्डकीका उपाध्यक्ष टंक पौडेल, सचिव गुणराज बास्तोला, एसआइटियुसी गण्डकी प्रदेशका संयोजक सुशिल कुमार वाग्ले,नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव वामदेव पौडेल, कोषाध्यक्ष उमनाथ शर्मा, नेपाल ट्रेडर्सका सञ्चालक किशोर सुवेदी, नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गण्डकीका अध्यक्ष प्रेमबहादुर थापामगर, अपरेटर संघ कास्कीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम सुवेदी, सचिव कृष्णप्रसाद पौडेल, स्याङ्जाका अध्यक्ष दीपेन्द शर्मा, म्याग्दी अध्यक्ष देवबहादुर खड्का लगायतले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

साधारणसभामा ज्येष्ठ हेभी इक्युपमेन्ट चालकद्धय टंक लामिछाने र मंलगबहादुर लामिछानेलाई सम्मान गरिएको थियो । यसैगरी माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने अपरेटरहरुका छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो । साधारणसभाले अध्यक्ष किशोरप्रसाद गौतम,सचिव कृष्ण प्रसाद पौडेल र कोषाध्यक्ष अनन्तराज पौडेलले प्रस्तुत गरेका संस्थाका बिभिन्न प्रतिवेदन पारित गरेको छ ।

२२ भाद्र २०८२, आईतवार २२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा