Play

पाताले छाँगो बिबाद: सार्बजनिक सुनुवाईमा पुगेका मेयर सुरक्षा घेराभित्रै, बिरोधका बाबजुद कार्यक्रम सकिएको दाबि

महानगरको निर्णयको बिरोध गर्ने युवा पौडेलमाथि खुकुरी प्रहार, एक जना प्रहरी नियन्त्रणमा


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका –१७ मा रहेको पाताले छाँगो (डेभिड फल्स) निजी कम्पनीलाई दिने पोखरा महानगरपालिकाको निर्णय सम्बन्धि बिबाद झनै चर्किएको छ । पोखरा महानगरपालिकाले सेती क्यनोनिंग प्रालि नामको निजी कम्पनीलाई सार्वजनिक–निजी साझेदारी मोडलमा सञ्चालन गर्न दिने निर्णय सार्बजनिक भयेसंगे शुरु भएको बिबाद महिनौं देखि जारी छ । सोहि बिषयलाई लिएर भएको विवादमा  बिहीबार खुकुरी प्रहारको घटना  समेत भएपछि बिहिबार बिहानको लागि तय गरिएको सार्बजनिक सुनुवाई कार्यक्रम समेत अबरुद्ध बन्न पुग्यो ।सेती क्यानोनिंग प्रालिसँग पोखरा महानगरपालिकाले २०७८ को साउन १४ मा पाताले छाँगो क्षेत्र ४० वर्षका लागि दिने सम्झौता गरेकोभएपनि त्यसको कार्यान्वयन अझै हुन् नसक्दा बिबाद कायम छ ।

पोखरा १७ का स्थानीय युवासहितको ठुलो संख्या पाताले छाँगो कुनैपनि हालतमा निजि कम्पनिलाई चालिस बर्षको लागि जिम्मा लगाउन नदिने पक्षमा छन ।  स्थानीय अगुवा एबम नेपाली काँग्रेसका वडा कार्यसमितिका सभापति देबराज आचार्यले महानगरको प्राकृतिक सम्पदा ४० वर्षका जिम्मा दिने निर्णय नै गलत भएको भन्दै यस अगाडी वार्षिक साढे ४ करोडसम्म आम्दानी गरेको संस्था त्यति धेरै वर्षका लागि निजि कम्पनीलाई जिम्मा दिने निर्णय नै गलत रहेको बताए। उनका अनुसार करिब दुई किलोमिटर खोला र करिब दुईसय रोपनी जग्गा बार्षिक दुई करोडमा दिनु भन्दा महानगरपालिका आफैले संचालन गर्नु उपयुक्त हुनेमा स्थानीय बासिन्दा र सर्बसाधारणहरु देखिएका छन।

महानगरपालिकाले उक्त स्थानमा निजि कम्पनीसंग भएको सम्झौता बमोजिम काम शुरु गराउनको लागि पटक पटक सार्बजनिक सुनुवाई गर्ने महानगरको योजना सफल हुन् सकेको छैन। अघिल्लो साताको बुधबार गर्ने भनिएको सार्वजनिक सुनुवाईमा जनसहभागिता पनि कम भएको र उपस्थित सर्बसाधारणले बिरोध गरेको कारण स्थगित हुन पुगेको थियो । त्यतिबेला पनि स्थानीयकै अवरोधका कारण कार्यक्रम हुन सकेको थिएन। त्यसपछि बिहीबारको लागि सार्बजनिक सुनुवाई तय गरिएको थियो । बिहिबार बिहान कार्यक्रम शुरु भए लगत्तै त्यहा उपस्थित सर्बसाधारणले पोखराका मेयर धनराज आचार्य विरुद्ध नाराबाजी गरेपछि नगरप्रहरीको कडा सुरक्षा घेराको बीचबाट मेयर धनराज आचार्य  बाहिरिएका थिए ।

कार्यक्रमको शुरुवातमा डेभिड फल्स भाडामा लिने कम्पनी सेती क्यान्योनका कर्केन गुरुङले आफ्नो कुरा राखे लगत्तै स्थानीयले विविध प्रश्न राख्ने क्रममा बिबाद बढेको थियो । बिबाद्कै बिचमा नेविसंघका केन्द्रीय सदस्य निर्दोष बिक्रम पौडेल र नेकपा विप्लवसंग सम्बन्धित बिधार्थी नेता प्रकाश बास्तोलाले कुनै हालतमा ४० बर्षको लागि निजि कम्पनीलाई जिम्मा दिने निर्णय कार्यन्वयन हुन नदिईने बताएका थिए।

कार्यक्रम हुन नसकेपछि सोही युवाहरू उक्त आयोजनाको विरोध गर्ने विद्यार्थी नेतामाथि आक्रमणमा उत्रिएका थिए । उनीहरूको आक्रमणकै कारण नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेल घाइते भएको प्रहरीले जनाएको छ । बैदाम प्रहरीका अनुसार, पौडेलमाथि खुकुरी प्रहार गर्ने वंशसिंह खवासलाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न अन्य युवाहरू आफ्नो सवारीसाधन छाडेर भागेका थिए ।

बिहीबारको कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यसमेत सहभागी थिए । मेयर नगर प्रहरी र  नेपाल प्रहरीको सुरक्षा घेराको बिचमा आएर कार्यक्रममा बसेका मेयर स्थानीयको बिरोध पछि सोही घेराबाट दगुर्दै बाहिर निस्केका थिए। मेयर त्यहाँ केहि बोलेनन र केहि गरेनन पनि, उनि किन गए किन सुरक्षा घेराकै बीचबाट फिर्ता भए भन्ने कसैले थाहा पाउन सकेनन, तर सर्बसाधारणले मेयरको समेत बिरोध गरेपछि उनि फिर्ता भएको अनुमान गरिएको छ ।

कार्यक्रमका दौरानमा केही स्थानीयले मेयरका विरुद्धमा नाराबाजी गर्ने क्रममा नै मेयरले पनि स्पष्ट कुरा राख्नुपर्ने बताएका थिए। तर, मेयर त्यहाँ बोल्न भन्दापनि सार्बजनिक सुनुवाई कार्यक्रमा उपस्थित हुनका लागी मात्र पुगेको र त्यहाँ मेयर सहित जनप्रतिनिधिले बोल्ने कुनै कार्यक्रम नरहेको महानरका प्रबक्ता मोतिराज तिमिल्सिनाले बताए। उनले भने, ‘आज निजी कम्पनीले रिपोर्ट प्रस्तुत गर्ने अनि स्थानीय बोल्ने कार्यक्रम हो। मेयर वा अन्य जनप्रतिनिधि बोल्ने कार्यक्रम थिएन।”

कार्यक्रममा महानगरका मेयर सहितका जनप्रतिनिधि पनि उपस्थित भएको र अवरोधकै बिच बिहीबारको कार्यक्रम सकिएको आयोजक सेती क्यनोनिंगका गुरुंगले जानकारी दिएका छन । ‘कार्यक्रम सकियो । अब रिपोर्ट आएपछि काम अघि बढ्छ । हामीलाई संरचना निर्माणका लागि बाटो खुला भएको छ,’ अध्यक्ष गुरुङले भने । कम्पनीका अध्यक्ष गुरुङले स्थानीयले उठाएका विषय सम्बोधन हुने समेत दाबि गरे ।कार्यक्रमको सुरुमा परियोजनाको तर्फबाट करिब १० मिनेट ब्रिफिङ गरिएको थियो । त्यसलगत्तै एक स्थानीयले परियोजनाको मापदण्ड र प्रभावबारे प्रश्न उठाउना साथ माहौल फरक बनेको हो ।

सार्वजनिक सुनुवाइमा कम्पनीको प्रस्तुति सुरु हुने बित्तिकै केही स्थानीयले माइक नियन्त्रणमा लिएर असन्तुष्टि पोखे आक्रोशित स्थानीयले मञ्चमा रहेको माइक नियन्त्रणमा लिए, र एकपछि अर्काे गर्दै बोल्न थाले । उनीहरूले परियोजनाको ठेक्का प्रक्रिया अपारदर्शी भएको र स्थानीयलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । स्थानीय यामनाथ सुवेदीले परियोजनाको २०० मिटर मापदण्डको बारेमा प्रश्न गरे। ‘मापदण्डका कारण हाम्रो घरजग्गा रोक्का हुँदा बैंकबाट ऋण लिन पाएका छैनौँ । घर सम्पन्न गर्न सकिएको छैन । हाम्रो समस्या कसले सुन्ने ?’ उनले भने, ‘हामीलाई मापदण्ड लाग्ने ठाउँमा यत्रो संरचना बनाउँदा कुनै मापदण्ड लाग्दैन ?’

उनले सुरक्षाकर्मीको बाक्लो उपस्थितिप्रति पनि प्रश्न उठाए । ‘मेयर आफ्नै जनतामाझ आउँदा यत्रो सुरक्षा घेरा किन चाहियो ? यो कस्तो खालको सार्वजनिक सुनुवाइ हो ?,’ उनले अघि भने, ‘सार्वजनिक सुनुवाइमा जनताका कुरा सुन्नुपर्छ र जबाफ दिनुपर्छ । मेयरले जबाफ नदिइ हिँड्न मिल्दैन ।’ मेयर धनराज आचार्य भने नाजबाफ भएर कार्यक्रमस्थलबाट बाहिरिएका थिए । यद्यपि सुवेदीले आफूहरू योजना र विकासको विरोधी नभएको भन्दै स्थानीयको अधिकार सुनिश्चितताको माग राखे । ‘यत्रो काम हुँदा स्थानीयको भूमिका के हुने हो ? गेटमा हाम्रो प्रवेशबारे के सोचेको छ ? सेयर र अन्य सुविधासँगै रोजगारीका बारेमा के राख्न खोजिएको छ ?,’ सुवेदीले भने, ‘यी सबै पक्ष क्लियर भएपछि मात्रै थप छलफल हुन्छ । बाह्य व्यक्तिसँग कुरा गरेर काम हुन सक्दैन ।’

कार्यक्रममा उपस्थित केही विद्यार्थी नेता तथा राजनीतिक कार्यकर्ताले परियोजना खारेज गर्नुपर्ने माग राखेका थिए । परियोजनाका विषयमा जनप्रतिनिधिदेखि राजनीतिक दल र सरोकारवाला पक्ष नै विभाजित छन् । एकथरीले जुनसुकै हालतमा ठेक्का रद्द हुनुपर्ने आवाज उठाएको छ भने अर्काेथरी कार्यान्वयन गर्नुपर्ने अडानमा छ । पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महानगरले लगाएको ठेक्का पारदर्शी नभएको र सिङ्गो पोखरा महानगरको शिर निहुरिने कदम भनेका छन् । ‘अहिले नै १२–१५ करोड रुपैयाँ वार्षिक उठ्ने अवस्था छ भने २ करोडमा हामी किन दिन खोजिरहेका छौँ त ?,’ उनले भने, ‘यसको पछाडिको रहस्य के छ ? हामी ५ वर्षे कार्यकालका जनप्रतिनिधिले ४० वर्षका लागि निर्णय दिनु भनेको हाम्रो जीवन नै समाप्ति हुने खालको गतिविधि हो ।’

महानगर र निजि कम्पनीबीच भएको सम्झौतामा पाताले छाँगो माथि सिसाको स्काई–वाक, खोलामाथि ट्राम्पोलिन, टनेल र लिफ्ट, रेस्टुरेन्ट र क्याफे, स्टीम बोटलगायत निर्माण गर्ने र यस किसिमको व्यवसाय सञ्चालनपछि वार्षिक स्थिर रोयल्टी दुई करोड रुपैयाँ र कुल आम्दानीको ८ दशमलव ५ प्रतिशत परिवर्तनशिल रोयल्टी महानगरलाई बुझाउनुपर्ने उल्लेख छ । ४ वर्षपछि स्थिर रोयल्टीमा ५ प्रतिशत वृद्धि गर्दै त्यसपछि २/२ वर्षमा ५ प्रतिशत चक्र वृद्धिले हुन आउने रकम महानगरलाई बुझाउनुपर्ने साथै ४ वर्षपछि परिवर्तनशिल रोयल्टीमा १० प्रतिशतले वृद्धि गरी महानगरलाई बुझाउनुपर्ने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रबक्ता मोति तिमिल्सिनाका अनुसार कम्पनीले वार्षिक दिने भनेको वार्षिक २ करोडका विषयमा केही स्थानीयले भ्रम सिर्जना गरेका छन । बार्षिक २ करोड रुपैया महानगरलाई दिने बुँदामा टिकट बिक्रीबाट आउने रोयल्टीको कुरा कसैले नगरेको उनले सुनाए । सम्झौताको २ करोडमा रोयल्टी रकम जोड्दा ४ करोड रुपैयाभन्दा बढि रकम कम्पनीले महानगरलाई प्राप्त हुने उनको दाबि छ। ‘केही स्थानीयले किन विरोध गरेका छैन् थाहा छैन् तर त्यहाँका धेरैले यो योजना ल्याउनुपर्छ भनेका छन्,

पातले छाँगोको आम्दानीबाट सञ्चालन हुने छोरेपाटन माबिलाई महानगर आफैले वार्षिक ३ करोड १ लाख रुपैयाँ दिने गरी प्रक्रिया अघि बढिसकेको अबस्थमा बिद्यालय संचालन गर्ने बहानामा विरोध गर्नुपर्ने कारण नरहेको उनले सुनाए ’ उनले भने, ‘सबै कुरा प्रक्रियासम्मत छ। अब यो ठेक्का तोड्ने हो र कम्पनीले पोखरा महानगर बिरुद्ध मुद्धा हाल्यो भने पोखरा महानगरले करोडौं रकम क्षतिपुर्ति तिर्नुपर्छ ।’ उनको भनाई छ।

२० भाद्र २०८२, शुक्रबार ०९:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा