बुटवल, आगामी कात्तिक १७ गते रुपन्देही जिल्लाको निर्बाचन क्षेत्र न. ३ मा हुने उपनिर्बाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले आइतबार डा. थापालाई पार्टीको चुनाव चिन्ह ‘घण्टी’ दिएर थापालाई नै उम्मेदवार बनाइएको घोषणा गरेका थिए ।
सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटी विधिबाट अन्य ८ जना आकाक्षीहरुलाई पछि पार्दै उम्मेदवार छनोट हुन सफल भएका हुन् ।
उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय -सिद्धार्थनगर–७, ज्ञानु पौड्याल- सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता – सिद्धार्थनगर–१, कुसुम महर्जन – मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री – सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल – सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल – बुटवल–१७ रुपन्देहीले पनि उक्त क्षेत्रबाट निर्बाचनमा उमेदवार बन्ने अपेक्षा राखेका थिए । उनीहरुमध्ये डा. थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भए पछि उमेद्वार बन्ने पक्का भएको हो ।
को हुन् डा. लेखजंग थापा ?

सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
अनुसन्धानकर्मी समेत रहेका उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा भूमिका खेलेका छन् ।
उनी काठमाडौँको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा पुगेर बिरामीको सेवा गर्दै आएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् ।
प्राईमरी ईलेक्सनमा रास्वपाका नेताहरुले नै मत दिएनन
रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भएको प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन)मा ६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मतदान गरेको पाइएको छ । केन्द्रीय सदस्यहरूले नै भोट नहालेपछि नेताहरूले आश्चर्य व्यक्त गरेका छन्। निर्वाचनमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले भोट नहालेको पाइएको रास्वापाको एक विश्वस्त स्रोतले बतायो ।
मतदान मोबाइल एपमार्फत गरिएको थियो र यसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्मको ३६ घण्टाको समय तोकिएको थियो। सुरुमा मोबाइल चलाउन नजान्ने वा नयाँ अभ्यास भएका कारण सामान्य सदस्यहरूको मत कम आएको अनुमान गरिए पनि सबै केन्द्रीय सदस्यहरूसँग स्मार्टफोन भएको अवस्थामा उनीहरूले मतदान नगर्नुले प्रश्न खडा गरेको छ।
‘हामी पनि आश्चर्यमा छौं। यो के भएको हो, त्रुटि भएको हो कि के हो, हामी पछि भेरिफाई गर्छौं।’ केन्द्रीय सदस्यहरूले आफ्नै उम्मेदवारलाई भोट किन हालेनन् भन्ने खोजीको विषय भएको एक नेताले बताए । यसैबीच रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यबाट कम मत खसेको विषय आफूले पनि जानकारी पाएको बताए । उम्मेदवारसँग केन्द्रीय सदस्यहरुको चिनापर्ची नभएको हुनाले पार्टीमा भएकै नो भोटको व्यवस्थाअनुसार मतदानमा सहभागी नभएको हुनसक्ने उनको भनाइ छ ।
निर्वाचनमा लोकप्रिय मत ल्याउनेहरूमा पहिलो सूचीमा सुलभ खरेल, डाक्टर लेखजंग थापा र ज्ञानु पौडेल, दोस्रो लोकप्रिय मत ल्याउनेमा पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य रहेका छन् । निर्वाचनमा ९ जना उम्मेदवार रहेको भएपनि रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्य र केन्द्रीय सदस्य गरि कुल २ हजार ७ सय ७८ मतदाताले दिएको मतको आधारमा उमेदवारको छनोट गर्ने प्राबधान राखिएको थियो । मतदातामध्ये कुल १ हजार ५ सय ६७ मत खसेको र त्यसमध्ये साधारण सदस्यको अंकभार ८०, तहगत समितिको १० र केन्द्रीय सदस्यको १० अंकभार रहेको रातोपाटीले आफ्नो समाचारमा जनाएको छ ।















