Play

पोखरामा इक्यान शैक्षिक मेलाको तयारी, बिदेशी शिक्षण संस्थाको सहित ६० वटा स्टल रहने

गुरुकुल खबर


पोखरा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न लागेको हो । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६० स्टल रहनेछन् ।

पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने बताए । उनले भने, ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’

इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताए । उनले भने, ‘मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उनले भने, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’

शैक्षिक मेलाको प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले उचित परामर्शका लागि इक्यान मेलामै सहभागी हुन आग्रह गरे । पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।

७ भाद्र २०८२, शनिबार २१:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा