काठमाडौँ, नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिनमा नै राष्ट्रपति र प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटबार्ता गरेका छन ।
आइतबार बिहान नेपाल आइपुगेका मिस्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो भेट गरेर शुरु गरेको भेटघाटको शृंखला राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुसंग पुगेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौको अन्तिम साता हुने भारत भ्रमणको निम्ता दिन नेपाल आएका मिस्रीले नेपालमा गरेका उच्चस्तरीय भेटवार्तामा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएको बुझिएको छ ।
विदेश सचिव मिस्रीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएका थिए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले ब्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
साथै विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।
भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका थिए । सिंहदरबारमा भएको शिष्टाचार भेटपछि मिस्रीले प्रधानमन्त्री ओलीलाई निम्तो हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ। यस पटकको भेटघाट संगै प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि आधिकारिक रूपमा ओलीको भ्रमण मिति भने सार्वजनिक भैसकेको छैन ।
विदेश सचिव मिस्रीले आइतबार नै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेको पनि बुझिएको छ।