पोखरा, नेपाल निजामती कर्मचारी युनियन कास्की नबौं जिल्ला अधिबेशनको तयारीमा जुटेको छ यहि साउन २३ गते हुने अधिबेशनले युनियनको नयाँ कार्यसमिति समेत चयन गर्नेछ। कास्की जिल्ला अधिबेशन संगै गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मन्त्रालय, निर्देशनालय र नेपाल सरकारको सहसचिब प्रमुख रहेका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुको विभागीय अधिबेशन समेत सोहि दिन गरिने भएको छ।
यसपटक युनियनका सदस्यहरुको संख्या कास्की जिल्लामा उल्लेखनीय रुपमा बढेको छ। युनियनका कास्की जिल्ला अध्यक्ष सुरेशकुमार श्रेष्ठका अनुसार अघिल्लो अधिबेशनमा कास्कीमा युनियनका सदस्यहरुको संख्या ५ सय ७५ रहेकोमा यस पटक अर्थात नबौं अधिबेशनमा सहभागी हुने सदस्य कर्मचारीहरुको संख्या १ हजार २ सय १८ पुगेको छ ।
युनियनका कास्की जिल्ला अध्यक्ष श्रेष्ठले अबको कार्यकालको लागि केन्द्रीय प्रतिनिधि बनेर युनियनको गण्डकी प्रदेशको अध्यक्ष बन्ने तयारी गरेसंगै कास्की जिल्लाको अध्यक्ष बन्न युनियनका केहि नेताले चासो देखाएका छन जसअनुसार हालका उपाध्यक्ष रहेका केदार सापकोटा अध्यक्ष बन्ने तयारीमा जुटेका छन। सापकोटाको अध्यक्ष बन्ने बलियो सम्भावना रहेको बुझिएको छ।कतिपयले भने बिनोद रेग्मी र तेजाखर लम्सालले पनि युनियनको कास्की जिल्ला अध्यक्ष बन्ने तयारीमा जुटेको चर्चा समेत गरेका छन । तर, युनियनको जिल्ला नेतृत्व सहित कार्यसमिति निर्बिरोध बन्ला वा निर्बाचन प्रक्रियाबाट कार्यसमिति बन्ला त्यसको लागि अझै केहि दिन प्रतिक्षा गर्नुपर्ने भएको छ।
अधिबेशन सम्पन्न गर्न युनियनका जिल्ला उपाध्यक्ष केदार सापकोटा संयोजक रहेको १ सय १ सदस्यीय ब्यबस्थापन समिति गठन गरिएको छ। भने कोषाध्यक्ष चेतराज आचार्यको संयोजक रहेको अर्थ संकलन समिती गठन गरिएको छ। युनियनका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ संयोजक रहेको ५१ सदस्यीय प्रचार प्रसार समिति एबम अतिथि आमन्त्रण समिति समेत गठन गरेर अधिबेशनको प्रचार प्रसार समेत भैरहेको बुझिएको छ ।
अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको छ भने नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायत विभिन्न व्यक्तित्व र युनियनका केन्द्रीय पदाधिकारीहरु समेत अधिबेशनमा सहभागी हुने बताइएको छ।
यसैबीच,अधिबेशनको तयारी सहित युनियनका अग्रजहरुबाट विभिन्न सुझाब संकलन गर्ने उद्धेश्यले शनिबार पोखरामा एक बिशेष छलफल एबम सुझाब संकलन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कास्कीका पूर्व अध्यक्षहरु रामजी प्रसाद कोइराला र सुर्यप्रसाद बराल, पूर्व केन्द्रिय सल्लाहकार गुरुप्रसाद बाँस्तोला, पुर्ब केन्द्रीय सदस्य महेश सिग्देल, अग्रजहरु रघु पौडेल र लक्ष्मीभद्र वाग्लेको साथै युनियनका केन्द्रीय सदस्य चित्रा ढकाल लगायतले अधिबेशनलाई सफल र प्रभावकारी बनाउन भन्दै बिभिन्न सुझाब दिएको युनियनका कास्की जिल्ला अध्यक्ष सुरेश कुमार श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।