मकवानपुर, नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेतामा निर्बाचित इन्द्रबहादुर बानियाँले आफू दलको नेता निर्बाचित भएको जानकारी बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई गराएका छन् । उनले बुधबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफू दलको नेता चुनिएको पत्र प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् ।नेता बानियाँले बुधबार सम्पन्न निर्वाचनमा कुल ३५ मतमध्ये २२ मत प्राप्त गर्दै संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।
कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ५ को उपधारा (२) बमोजिम निर्वाचन गरिएको उक्त प्रक्रियामा बानियाँले कुल सदस्य सङ्ख्याको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेर दलको नेतामा विजयी भएका थिए ।
हाल मुख्यमन्त्री रहेका बहादुर सिंह लामाले आफूले गठबन्धनको सरकारको नेतृत्व गरेकाले तत्काल राजीनामा दिन नपर्ने बताउँदै बिहीबार दिउँसो १ बजे ३ जना मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखेको वा सरकार विस्तारको तयारी गरेसँगै नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएका हुन् । कांग्रेस संसदीय अभ्यास अनुसार दलको नेता नै मुख्यमन्त्री हुने प्रक्रिया रहेकाले नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई भेटेर उक्त जानकारी गराएको बुझिएको छ।
लामालाई मुख्यमन्त्रीबाट सहजरुपमा बिदा गरिन्छ – बानिया
यसैबीच, नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेतामा निर्बाचित बानियाँले हालका मुख्य मन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिनुपर्ने बताउंदै संसदीय दलको नेता नरहेका लामालाई अब मुख्यमन्त्रीबाट सहजरुपमा बिदाइ गरिने बताए ।
लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक हुन्छन्। दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धा र दलहरूबीचको बाह्य प्रतिस्पर्धाबीच कहिलेकाहीँ मेलमिलाप पनि हुन्छ। लोकतान्त्रिक प्रणालीमा जब कुनै दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सक्दैनन, तब पार्टी कमजोर नहोस् भन्ने सोचले नेतृत्व परिवर्तनको आवश्यकता पर्छ। उनले संचारकर्मीहरु संग भने।
‘बहादुर सिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले दुई दलबीच गठबन्धन हुँदा मुख्यमन्त्री बन्नुभएको हो। अहिले उहाँले संसदीय दलको नेताको हैसियत गुमाइसक्नुभएको छ। तसर्थ उहाँले मार्गप्रशस्त गरिदिनुभयो भने सबै कुरा सहज ढंगले अगाडि बढ्छ। यदि उहाँले नमानेमा पनि लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रिया अपनाएर उहाँलाई मुख्यमन्त्रीबाट बिदा गरिन्छ।’- बानियाको भनाई छ।
मैले राजिनामा दिनुपर्ने कुनै कारण छैन – मुख्यमन्त्री लामा
यता, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भने आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएसँगै लामाले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको बताएका हुन् । ‘मैले राजीनामा दिनुपर्ने कुनै आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन ।’ लामाले संचारकर्मीहरुसंग भने ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन। किन राजीनामा दिनुपर्छ? कुनै आधार छैन। हामी संविधानअनुसार चल्छौं। संविधानले जे व्यवस्था गरेको छ, त्यसैअनुसार अघि बढ्ने हो।’
मुख्यमन्त्री लामाले संविधानको धारा १६८ (२) अनुसार आफ्नो नेतृत्वमा सरकार बनेको र यो सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भन्दै संविधानले स्थिर सरकारको व्यवस्था गरेको दाबि गरे। एकचोटि अविश्वास प्रस्ताव दर्ता भयो भने अर्को पटक फेरि एक वर्ष कुर्नुपर्ने प्रावधान छ। त्यसैले संविधानले स्थिर सरकारको लागि छुट्टै व्यवस्था गरेको हो, जुन सबैले पालना गर्नुपर्छ।
‘१६८(३) अन्तर्गतको व्यवस्था अनुसार एकल बहुमतको सरकार बनाइन्छ भने दलको नेता हुनुपर्छ। तर अहिलेको सरकार १६८(२) अनुसार, अर्थात् मिलिजुली (कोअलिशन) सरकार हो। संविधानमा जे लेखिएको छ, त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ। दलहरूको निर्णयभन्दा माथि संविधान हुन्छ। त्यसैले हामी सबैले संविधान हेर्नुपर्छ, व्याख्या गर्नुपर्ने हो भने कानुनी प्रक्रिया हुन्छ, वकिल छन्। त्यो मेरो व्यक्तिगत निर्णयमा मात्र निर्भर हुने कुरा होइन।’ लामाले भने ।