पोखरा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई शसक्त ढङ्गले उठाउँदै आएको बताएकी छन । नेपाल तरुण दल कास्कीले बुधबार पोखरामा आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाहरुको सरोकार विषयक सम्वाद कार्यक्रम’मा बोल्दै मन्त्री राणाले नेपाललाई जलवायुजन्य हानी नोक्सानी सम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने कुरामा जोड दिईन ।
हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा समेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री राणाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरिरहेको बताईन । “हामीलाई हानी नोक्सानी कोष दिनुपर्ने, बाढीपहिराले भत्केका पुल, विद्यालय जस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ। नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्छ ।” उनले भनिन ।
पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै उनले जलवायु परिवर्तनका कारण हिमालको सौन्दर्य संकटमा परेकोमा चिन्ता व्यक्त गरिन्। ‘पहिले पोखरा आउँदा मोतीका दाना टल्किएजस्तो देखिने माछापुच्छ्रे, धौलागिरि र अन्नपूर्ण हिमाल अहिले कालो देख्छु,’ उनले भनिन। ‘यो दृश्यले मलाई निकै खिन्न बनाउँछ । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको भन्दै उनले जलवायु परिवर्तनको असरबाट आउने पिढीँलाई बचाउन वृक्षारोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय उर्जाको प्रयोगलाई बढाउनुपर्नेमा समेत जोड दिईन ।
पोखराबाट भारत चीनमा सिधा उडानको लागि पहल भैरहेको छ – राणा
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रम सहित पोखरामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारत र चिनबाट सिधा उडान सञ्चालनका लागि आंफुले निरन्तर पहल गरिरहेको समेत बताईन । परराष्ट्रमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँगकै भेटमा नेपालका लागि अतिरिक्त हवाई रुट र पोखरामा उडानका लागि आग्रह गरेकी थिएँ, चीन भ्रमणका क्रममा पनि चिनियाँ अधिकारीहरूलाई पोखरा विमानस्थलमा उडान गराउने व्यवस्था मिलाउन अनुरोध गरेकी छु ।’ उनले भनिन
उनले मध्यपूर्व लगायतका देशका आफ्ना समकक्षी र नेपालस्थित राजदूतहरूमार्फत पनि पोखरा र भैरहवामा उडान सञ्चालनका लागि सम्बन्धित एयरलाइन्ससँग कुरा गर्न आग्रह गर्दै आएको समेत जानकारी दिइन् । पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘साहसिक खेल कूटनीति’ को नयाँ अवधारणा अगाडि बढाउने सोच बनाएको उनले उल्लेख गरेकी छन ।
उनले शक्तिशाली देशहरूको अनियन्त्रित कार्बन उत्सर्जनको मार नेपालजस्ता देशले भोग्नुपरेको बताउँदै यसलाई ‘नखाएको विष’ को संज्ञा दिइन् । यही अन्यायविरुद्ध आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र हालै अन्तर्राष्ट्रिय अदालतको पूर्ण इजलासमा समेत नेपालको पक्षमा जलवायु न्यायको माग गरेको उनले बताइन् ।
मिस पबी, मिस सबी जस्तै नामबाट सामाजिक संजाल चलाउन सिक्नुपर्यो
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री राणाले देशको भुमीपुत्रको रुपमा नेपाली काँग्रेस रहेको भन्दै मुलुकमा उत्पन्न सबै किसिमका समस्याको समाधान कांग्रेसले नै गर्दै आएको बताइन् । उनले पार्टीका भात्री संस्थाको रुपमा रहेका नेपाल तरुण दल र नेपाल महिला संघलाई शसक्त र बलियो बनाउनुपर्नेमा जोड दिंदै भर्खर जन्मेका पार्टीले सामाजिक संजालमा अनाबश्यक कुरा लेखेर जनतालाई भ्रममा पार्ने गरेको उल्लेख गरिन। अब हाम्रो पार्टीका कार्यकर्ताहरुले पनि मिस पबी, मिस सबी जस्तै विभिन्न नामबाट सामाजिक संजाल चलाउन सिक्नुपर्ने र जनतालाई सहि सन्देश दिनुपर्नेमा जोड दिईन।
सामाजिक संजाल विश्वसामु नै चुनौती बनेको कुराको चर्चा गर्दै उनले नेपालमा जन्मिएका नयाँ पार्टीले पुराना पार्टी नराम्रो र नयाँ पार्टी राम्रो भन्ने भाष्य स्थापित गर्न थालेको भनि आक्रोश ब्यक्त गरिन । अहिले नांग्लो पसल जस्तै विभिन्न नाममा नयाँ पार्टी खुलेका छन र सामाजिक संजाल मार्फत कांग्रेसलाई पुरानो र बुढाहरुको पार्टी भनेर भ्रम छर्ने गरेको छन भन्दै उनले प्रश्न गरिन- इतिहास नभईकन कसरि बर्तमान हुन्छ ?उनले ससानो बिबाद र असन्तुष्टि हुँदैमा कांग्रेस छोडेर अरु पार्टीमा नजान कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरिन ।
जिल्ला अधिबेशन नगर्ने जिल्ला तरुण दलको महाधिबेशनमा सहभागी हुन सक्दैन – बस्नेत
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले तरुण दलका सबै तहका अधिवेशन समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । अब समयमा जिल्ला अधिबेशन सम्पन्न नगर्ने जिल्लाले महाधिबेशनमा भाग लिन नपाउने बताउंदै बस्नेतले नेपाली काँग्रेसको नीति र विचारले नै देशमा परिबर्तन आइरहेको र कांग्रेसले नै देश बनाउन सक्ने उल्लेख गरे।
उनले कांग्रेसका नेताहरु बिपी कोइराला देखि सुबर्ण शमसेर, किसुनजी, गिरिजाबाबु, सुशिल कोइराला लगायतको निष्ठा र त्याग अनि समर्पणका कारण मुलुकमा बिभिन्न परिबर्तन हुँदै आएको भन्दै उनले कांग्रेसले नै देश र जनताको हित गर्ने भएकोले अरुको नारा र भाषणको पछि नलाग्न तरुण र युवाहरुलाई आग्रह गरे राष्ट्रिय सभाका सदस्य बस्नेतले सरकार गठनका बेला नेपाली काँग्रेस र नेकपा (एमाले)बीच भएको सात बुँदे सम्झौता कार्यान्वयनमा पनि जोड दिए ।
नेपाल तरुण दलका अध्यक्ष बिद्धान गुरुङले जहाँ विपद् त्यहाँ तरुण भन्ने भावना बोकेर विपदको बेला सक्रियता पुर्बक उद्वारमा खटिन तरुणहरुलाई आग्रह गर्दै ५० भन्दा बढी जिल्लामा तरुण दलको अधिबेशन भैसकेको र बाँकी जिल्लामा पनि चांडो अधिबेशन सकेर महाधिबेशनको तयारीमा जुट्ने जानकारी दिए ।
नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे, नेपाली काँग्रेस पोखरा महानगरपालिका -५ का सभापति प्रकाश कोइराला र नेपाल तरुण दल कास्की -२ का सभापति डिआर भट्टराई लगायतले आआफ्नो भनाई राखेका थिए।