पोखरा, पोखरा महानगरपालिका–४ गैरापाटनमा संचालित गण्डकी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्समा ग्रेण्ड प्यारेन्ट्स् डे (हजुरबुबा–हजुरआमा दिवस) मनाइएको छ। मन्टेश्वरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्ना हजुरबुबा–हजुरआमासँगै विद्यालयको सभाहलमा छुट्टाछुट्टै कार्यक्रममार्फत दिवस मनाएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, नाटक तथा मन्त्रोच्चारण जस्ता विविध प्रस्तुति दिएका थिए भने हजुरबुबा–हजुरआमालाई विभिन्न खेलमा सहभागि गराएर मनोरंजन दिलाइएको थियो।
प्रि वन र प्रि टु का बालबालिकाबाट मन्त्रोच्चारण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो। विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बालबालिकालाई सानैदेखि संस्कार, संस्कृति, सामाजिक सेवा, सत्कार तथा बाह्य-भित्रि वातावरणसँग घुलमिल गराउने यस किसिमको कार्यक्रम आयोजना गरिएको जानकारी दिए
यस किसिमका पारिवारिक कार्यक्रमले भविष्यमा उनीहरूलाई जिम्मेवार नागरिक र असल मानिस बन्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै उनले भने “अग्रजका कुराहरू सुन्नुपर्छ भन्ने उखान त्यसै भनिएको होइन। उहाँहरूसँग अनुभव, माया र ज्ञानको खानी हुन्छ, जसबाट बालबालिकाले धेरै कुरा सिक्न सक्छन्।”
कार्यक्रममा मन्टेश्वरी इन्चार्ज अमृता आलेले स्वागत मन्तव्य गर्दै हजुरबुबा–हजुरआमालाई घर र समाजका पहिलो गुरु भएको बताईन उहाँहरूबाट आउने जीवन भोगाइका अनुभवले सन्तानलाई मार्गदर्शन गर्ने उनको भनाई थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू मीना पालिखे, रश्मी पालिखे, कुशल पालिखे, लोअर सेकेण्डरी इन्चार्ज सजनी माजु, नृत्य प्रशिक्षक सजिना गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षिका निलम प्रधानले गरेकी थिइन्।