Play

नेकपा एमालेमा अध्यक्ष ओली र पुर्व राष्ट्रपति भण्डारीबीच वाकयुध्द जारी, दुबैको अडान यथाबत

गुरुकुल खबर


काठमाडौँ, सत्तारुढ दल नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो बन्द गरेपछि शुक्रबार पत्रकार सम्मेलन गरेर भण्डारीले आफू कुनै हालतमा पछि नहट्ने जबाफ सार्बजनिक रुपमा दिईन । त्यतिमात्र होइन, भण्डारीले आफ्नो पार्टी सदस्यता जननेता मदन भण्डारीले दिएको र निरन्तर ४५ वर्षदेखि सक्रिय रहेकाले कसैले खान नसक्ने चेतावनी पनि दिइन् ।

जबकि, एमाले केन्द्रीय कमिटी बैठक लगत्तै भण्डारीको सदस्यता खारेज गर्दै रेकर्डबाटै हटाइसकेको एमाले नेताहरूले बताइसकेका छन् ।

एमालेको संस्थापन पक्ष भण्डारीलाई जसरी पनि सक्रिय राजनीतिमा आउन नदिने पक्षमा छ । तर  राजनीतिमा नआइ नछाड्ने भण्डारीको अडानले आगामी दिनमा एमालेभित्र समानान्तर गतिविधि बढ्ने संकेत देखिँदै गएका छन् । भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत समानान्तर गतिविधि अघि बढाउनसक्ने संस्थापन पक्षका नेता कार्यकर्ताको बुझाइ छ ।

भण्डारी पक्षको गतिविधि रोक्न संस्थापन पक्षले उनको पक्षमा लाग्ने नेता कार्यकर्ताहरूलाई स्पष्टीकरण सोध्ने र निलम्बन गर्ने रणनीति लिएको देखिन्छ । जसका कारण नेता कार्यकर्ताहरू भण्डारीको पक्षमा नखुलुन् भन्ने एमालेको अपेक्षा देखिन्छ । सोही रणनीति अनुसार नै एमालेले भण्डारीको पक्षमा अभिव्यक्ति दिँदै आएका युवा संघका दुई जना नेतालाई कारबाही गरेर समानान्तर गतिविधि रोक्ने संकेत देखाइसकेको छ । यद्यपि, युवा संघले उनीहरूलाई कुनै नेता वा गुटमा लागेको आधारमा नभई अनुशासन र ठगीको उजुरीका आधारमा कारबाही गर्नुपरेको दाबी गरेको छ ।

युवा संघले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई शुक्रबार निलम्बनको कारबाही गरेको हो । खरेल र राईले विद्या भण्डारी पक्षलाई समर्थन गरेका कारण आफूहरूमाथि कारबाही भएको दाबी गरेका छन् ।

विद्या भण्डारीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफू एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने घोषणा गरिरहँदा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने मधेस प्रदेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकनमा गएका थिए ।

शुक्रबार बेलुका मधेसबाट फर्केका ओलीले शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग भेटवार्ता गर्दै भण्डारीको राजनीतिक सक्रियताबारे पुनः असन्तुष्टि जनाए । त्यो भेटमा ओलीले विद्या भण्डारीलाई कसैले उचालेको भन्दै त्यसले स्वयं भण्डारी र सिङ्गो नेकपा एमालेलाई फाइदा नपुग्ने प्रस्ट पारे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारी एमाले नेता कार्यकर्ताको काँधमा रहेकोमा जोड दिए ।

शनिबार राति बालुवाटार पुगेका कर्णाली प्रदेशका केही नेताहरूसँग ओलीले भने, ‘जिरोबाट पार्टीलाई यो अवस्थामा ल्याइयो । पार्टी र सरकारले राम्रो काम पनि गरिरहेको छ तर यही वेला कमजोर बनाउने प्रयत्न विभिन्न ढंगले भइरहेका छन् । यो राम्रो होइन ।’

यस्तो अवस्थामा भण्डारीलाई सम्झाइ–बुझाइ गर्नुपर्नेमा ओलीले जोड दिएका थिए । जसले भण्डारीलाई उचालेका छन्, तिनले नै सम्झाइ–बुझाइ गर्नुपर्ने उनको भनाइ थियो । भण्डारीले सम्मानित पदको गरिमा राख्नुको विकल्प नभएको पनि उनले प्रस्ट पारेका थिए ।

‘उहाँले त्यो पदको गरिमा राख्नुभएन भने उहाँ र एमाले जुन उचाइमा छ, त्यो घटाउने बाहेक केही गर्दैन’, ओलीले थप भने, ‘उहाँको आवेश रोकिन्छ, हावाको झोक्कामात्र हो ।’ ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिङ्गो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ’

सिङ्गो एमाले पार्टी र आफूसहित पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठुला–ठुला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका भन्दै ओलीले अहिले बाहिर देखिएको सानो हावाको झोक्का सामान्य रूपमा समाधान हुने विश्वास व्यक्त गरे । ‘तपाईंहरू यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्’, विद्या भण्डारी फ्याक्टरको चिन्ता गर्ने नेता कार्यकर्ताहरूलाई ओलीको निर्देशन थियो ।

एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै राष्ट्रिय राजनीतिमा एमालेले लिएको नीति र सरकारले गरेका राम्रा कामहरू देखेर अत्तालिएका शक्तिहरूकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाइएको तथा त्यसैको लहडमा सम्मानित व्यक्तित्व लाग्नु एमालेका लागि दुःखद भएको बताए ।

‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिङ्गो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ’, ओलीका भनाइ उद्धृत गर्दै बोगटीले भने ।

लामो समय जारी राजनीतिक संघर्षको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयं उनकै कद घटाउने काम गरेको ओलीको भनाइ थियो ।

देशको अविभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडेकै कारण एमाले पछिल्लो निर्णयमा पुग्नु परेको टिप्पणी सो अवसरमा ओलीले गरेको बोगटीको भनाइ छ ।

कर्णाली प्रदेशका नेताहरूसँग लामो कथासहितको इतिहास सुनाउँदै करिब २ घण्टा कुरा गरेका ओलीले पार्टी निर्माणका क्रममा आफूले रामनाथ दाहालको सम्पर्कदेखि झापामा रहँदा दमाई माइलोदेखि जेठो सतार र मुखिया कान्छोसमेतलाई पार्टीमा समेट्न गरेको प्रयासको फेहरिस्त सुनाएका थिए । ‘बैठकमा बोलेका आधारमा कसैप्रति धारणा बनाउनु हुँदैन बरु नबुझेकाहरूलाई सम्झाउनुपर्छ । बुझाउनुपर्छ । क्षति हुनबाट रोक्नुपर्छ’

कुराकानीको अन्तिममा पनि ओलीले पूर्वराष्ट्रपति भण्डारी कसैको बहकाउमा लागेको दोहोर्‍याएका थिए । तर ओलीले भण्डारीलाई कसले उचाल्यो र कसको बहकाउमा लागेको भन्ने कुरा प्रस्ट खुलाएन् । ‘कसले त्यो भूमिका खेल्यो भन्ने त उहाँले खुलाउनुभएन तर संकेत देशी विदेशी शक्तिहरूतर्फ लक्षित थियो’, शनिबार राति बालुवाटारमा ओलीसँग छलफल गरेका एक नेताले रातोपाटीसँग भने, ‘ज–जसले उचाले, तिनले धेरै सम्झाउनुपर्छ । उहाँको आवेश रोकिन्छ ।’

त्यसक्रममा ओलीले पार्टीमा कसैलाई अन्याय, भेदभाव र विभेद गर्नुपर्ने कारण नभएको पनि सुनाए । ‘बैठकमा बोलेका आधारमा कसैप्रति धारणा बनाउनु हुँदैन बरु नबुझेकाहरूलाई सम्झाउनुपर्छ । बुझाउनुपर्छ । क्षति हुनबाट रोक्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

विद्या भण्डारीले गरेको पत्रकार सम्मेलनमा मदनको तस्बिर र सूर्य चिह्न प्रयोग तथा एमालेको पूर्वउपाध्यक्षको हैसियतबारे भने ओलीले केही खुलाएनन् । गत असार १४ गते एमालेको पार्टी सदस्यता नवीकरण गरेको बताएकी भण्डारीले त्यसयता विभिन्न सञ्चारमाध्यमा आफू सक्रिय राजनीति गर्ने भन्दै भावी अध्यक्षका रुपमा समेत उभ्याएकी थिइन् । तर, शुक्रबारको पत्रकार सम्मेलनमा भने भण्डारीले आफूलाई कुनै पदको लालसा नभएको दाबी गरेकी थिइन् ।

‘मलाई कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति छैन । किनकि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीको भनाइ थियो ।

११ श्रावण २०८२, आईतवार १९:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा