पोखरा, अबैध रुपमा बिदेशी मुद्राको कारोबार भैरहेको भन्ने सुचनाको आधारमा गण्डकी प्रदेश प्रहरीको सक्रियतामा करिब ७६ लाख रुपैया नगदसहित पोखराबाट तिन जना व्यक्ति पक्राउ परेका छन् । उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका- ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा – १९ पुरनचौर घर भएका खेमराज पौडेल रहेको कास्कीका प्रहरी प्रमुख एबम प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
४५ बर्षीय महमुदिन एम अहमद रुपन्देहीको सिद्दार्थनगर -१३ हाटबजार घर भएपनि रुपन्देही र कास्कीमा रेस्टुरेन्ट ब्यबसाय संचालन गर्दै आएका थिए। उनलाई यहि साउन १० गते पक्राउ गरिएको थियो। यसैगरी ४५ बर्षीय राजकुमार बुढाथोकीको झापा घर भएपनि उनले पोखराको बैदाममा हिलारी मनि चेन्जर संचालन गर्दै आएका थिए ।
कास्कीको पोखरा महानगरपालिका -१९ पुरन्चौर घर भएका ४३ बर्षीय खेमराज पौडेल पनि पोखराको लेकसाइडमा सगरमाथा मनि चेन्जर संचालन गर्दै आएका व्यक्ति हुन। पौडेल र बुढाथोकीलाइ पनि प्रहरीले साउन १० गते नै पक्राउ गरेको थियो।
उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि संगठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको कास्की प्रहरीका प्रमुख ओलियाले जानकारी दिए ।
राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ ।सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।