सिराहा, सिराहामा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्नको लागि प्रहरीले गोली चलाएको छ। लागु औषधसहित पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान रहेको प्रहरीले जनाएको छ।
पासवानले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा शनिबार अपरान्ह चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार पासवानलाई सुराकीका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायर गर्नु परेको प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।
प्रहरीका अनुसार पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको जनाइएको छ।