काठमाडौँ- नेपाल – चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल- चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।
बाढी पहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका- २ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवा समेत अबरुद्ध भएको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएको रसुवाबाट निर्बाचित संघिय सांसद मोहन आचार्यले जानकारी दिए।
उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्याएको छ भने सो स्थानमा आवतजावत पनि बन्द हुन पुगेको सांसद आचार्यले जानकारी दिए । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ ।
यसैबीच नेपाली कांग्रेसका नेता एवं सांसद आचार्य गएराति बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुको साथै अबरुद्ध भएको सेवालाई कसरि सुचारु गर्ने भन्ने सम्बन्धमा छलफल गरेको बुझिएको छ। मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका सांसद आचार्यले आगामी योजनाका बारेमा समेत छलफल गरेको बुझीएको छ ।