पोखरा, पोखरा महानगरपालिका वडा नं.५ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखराको मालेपाटन र जिरो किलोमिटरको बिचमा निर्माण गरिएको सुबिधासम्पन्न भवनको बिहिबार बिहान आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्।
वडा न. ५ का वडाध्यक्ष बिष्णुप्रसाद बरालका अनुसार वडा कार्यालय भवन निर्माणका २०७९ माघमा अमित/एसवी जेभी निर्माण कम्पनिसंग २०८२ बैशाखमा सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएकोमा सोहि अनुरुप निर्माण सम्पन्न गरिएको हो । भवन निर्माणका लागि सात करोड २६ लाख ६४ हजार ६२३ रुपैयाँ लागत तयार गरिएका भएपनि ४ करोड ८४ लाख रुपैयाँमा भवन निर्माण सम्झौता भएको थियो ।
१६ हजार ३४२ बर्गफिट क्षेत्रपहलमा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको भूमिगत तलामा पार्कीङ, पहिलो तलामा प्रशासन, लेखा, दर्ता चलानी, दोस्रो तलामा जनप्रतिनिध र सचिवको कार्यकक्ष तेस्रो तलामा पुस्तकालय र तालिम कक्ष साथै चौथो तलामा सभाहल राखिने वडाध्यक्ष बरालले जानकारी दिए । उक्त भवन अपांगमैत्री बनाइएको वडा कार्यालयका इन्जिनियर सुमन पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।
लामो समयदेखि पोखराको बाराही माबि अगाडीको चौरमा रहेको पुरानो भवनबाट सेवा दिंदै आएको वडा न. ५ कार्यालयको नयाँ भवन निर्माण भएर सोहि भवनबाट सेवा शुरु भएपछि वडाबाशीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत सहज हुने बिश्वास वडा न. ५ का वडाध्यक्ष बिष्णुप्रसाद बरालले ब्यक्त गरेका छन।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले अब महानगरका ३३ वटा वडा मध्ये दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ९ र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्न बाँकी छ । ती दुई वडाको भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने र पोखरा महानगरको आफ्नै प्रशासनिक भवनको समेत चालु आर्थिक वर्षमा नै शिलान्यास गर्ने उनले जानकारी दिए ।
प्रमुख आचार्यले वडा वडामा अधिकार विकेन्द्रिकरण गर्दा विकास निर्माणमा प्रभावकारी परिणामहरु देखिएको बताए । विगतमा १० लाख भन्दा बढीका परियोजनाको सम्झौता र भुक्तानी समेत लिन महानगर धाउनुपर्ने बाध्यता रझेकोमा अहिले वडाबाट नै भुक्तानी गर्ने ब्यबस्था मिलाइएको जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख मञ्जदेवी गुरुङले वडा नम्बर ५ को नयाँ भवनबाट दिइने सेवामा नविनतम ढंगले काम हुने अपेक्षा प्रकट गरिन् । महानगरले पहिलो कार्याकाल देखि नै वडा कार्यालयहरु ब्यबस्थित हुनुपर्छ र त्यहीँबाट राम्रो सेवासुविधा पाउनुपर्छ भनेर निर्माणको कार्य थालिएको उनले बताइन् ।
वडा नम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले पर्स्याङ बंगैचा पार्कबाट सेवा सुरु भएको वडा कार्यालय अहिले नयाँ भवनसम्म आइपुगेको भन्दै सुविधा सम्पन्न वडा कार्यालयबाट जनताका अपेक्षा पनि त्यही अनुरुप पुरा गर्ने प्रतिवद्धता जनाए । जग्गा प्राप्तिका लागि योगदान दिने पूर्वमहानगर प्रमुख मानबहादुर जिसीसहित भवन निर्माणका लागि योगदान दिने सबैजना प्रति वडाध्यक्ष बरालले आभार प्रकट गरे ।
निर्माण कम्पनीलाई ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ भुक्तानी दिइएको पोखरा महानगर भवन शाखाका प्रमुख वरिष्ठ ई. लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । गौतम संगै ई. सुमन पराजुलीले भवन निर्माण कार्यको प्राबिधिकको रुपमा अनुगमन गरेका थिए ।
भवन उद्घाटन समारोहमा वडा प्रोफाइलको लोकार्पण गरिएको थियो । निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीको नेतृत्वमा प्रकाशित प्रोफाइलमा वडा नम्बर ५ मा भए गरेका कामका साथै वडाको सबै विषयहरु समेटिएका छन् । पूर्ववडाध्यक्ष नेपालीले भवन सुन्दर भएजस्तै सुन्दरढंगले जनप्रतिनिधिले जनताको काम गर्ने अपेक्षा प्रकट गरे । उनले वडा दर्पणले वडाको बारेमा जानकारी दिएको बताए ।
कार्यक्रममा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा महानगर वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानांग, वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगी, स्थानीय समाजसेवी एबम नेपाली काँग्रेसका नेता पुरुषोत्तम पराजुली र वदनकुमारी शर्मा लगायतले शुभकामना दिएका थिए । वडा सदस्य हरिमायाँ विश्वकर्माले स्वागत गरेको उक्त उद्घाटन समारोह कार्यक्रमको संचालन वडा सचिव लक्ष्मण शर्माले गरेका थिए ।