पोखरा, लायन्स क्लब फ पोखरा माउण्टेन सिटीको नया कार्यसमितिले लायन बर्ष २०२५/०२६ को कार्यभार लिएको पहिलो दिन बिबिध कार्यक्रमको आयोजना गर्यो। पोखरा महानगरपालिका – २९ मदरीकुना, लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र विरुवा गोडमेल कार्यक्रमको आयोजना गरि क्लबले आफ्नो कार्यकाल शुरु गरेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् डिष्ट्रिक चिफ खेमराज बरालले आश्रमका प्रमुख १०८ ऋषिमानन्द गिरीलाई खाद्यान्न दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै बरालले माउण्टेन सिटीले अघिल्ला वर्षहरुमा गरेको कार्यक्रमहरु उत्कृष्ट रहेको र पुरस्कृत समेत भएको उल्लेख गरे ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका वर्ष २०२५/०२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीले हरेक वर्षमा पोखरा माउण्टेन सिटी क्लबले सेवाभावले काम गर्दै आएको र यो वर्षपनि डिष्ट्रिकमा पहिलो हुने गरी काम गर्ने बताए । अध्यक्ष अधिकारीले चामल, दाल, चिउरा, भुजा लगायतको खाद्यान्नको स्वयम व्यवस्थापन गरेका थिए उक्त कार्यक्रम प्रेमबहादुर थापाको संयोजकत्वमा भएको थियो ।
त्यसैगरी बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि, संस्थापक अध्यक्ष एवम् इन्टरनेशनल एड्भाइजर डोलराज पोखरेलले अघिल्ला वर्षहरुमा फलफूलका विरुवाहरु निरन्तर रोपिएपनि संरक्षणको अभाव भएको बताएका थिए । “आवश्यक विरुवाहरु हामी उपलब्ध गराउछौं, संरक्षण स्थानीय र मन्दिर व्यवस्थापनले गर्नुपर्छ, अन्यथा बिरुवा रोप्दै जाने तर अर्को वर्ष आउदा विरुवा नदेखिनु दुःखको कुरा हो” उनले भने ।
बृक्षारोपण कार्यक्रमका संयोजक एबम क्लबका प्रथम उपाध्यक्ष पदम श्रेष्ठले १४ वटा ड्रागन फ्रुटको विरुवा सहयोग स्वरूप उपलब्ध गराएका थिए । संयोजक श्रेष्ठलेले ९ महिनामा नै उत्पादन दिने विरुवाहरु रोपिएको हुँदा उचित हेरचाह गर्न व्यवस्थापन समितिलाई सुझाव दिंदै आवश्यक परामर्श र संरक्षणको लागि क्लबले सहयोग गर्ने जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा अघिल्लो वर्षमा रोपिएका फलफूल तथा अन्य विरुवाहरुको गोडमेल समेत गरिएको थियो । नर्मदेश्वर मोक्ष सन्यास आश्रमका सचिव ई.माधव भण्डारी, १०८ स्वामी ऋषिमानन्द गिरी, डा.स्वामी विश्वानन्द क्लबका पूर्व अध्यक्ष एवम् जोन चियरपर्सन नरेश सुवेदी, पूर्व अध्यक्ष मोहदत्त भुषाल, पूर्व अध्यक्ष शक्ति बराल, थर्ड भिपी कल्याण तिमिल्सिना लगायतले आफ्नो आफ्नो भनाई राखेको उक्त कार्यक्रमको संचालन क्लवका सचिव शिवप्रसाद रिमालले गरेका थिए । क्लबका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार प्रेमबहादुर थापाले ब्यक्त गरेका थिए ।