Play

माधव नेपाललाई ‘मरेको सिनो’ भनेको भन्दै झाँक्रीसँग पार्टीद्वारा स्पष्टीकरण माग, कारबाहीको तयारी

गुरुकुल खबर


पोखरा, नेकपा (एकीकृत समाजवादी)ले पार्टी नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि दिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधेको छ । अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको प्रसंगमा झाँक्रीले सार्वजनिक कार्यक्रममा ‘काँधमा मरेको सिनो बोकेर हिँड्न सकिँदैन’ भनेर दिएको अभिव्यक्तिपछि विवाद चुलिएको हो ।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा बोल्दै पार्टी नेतृत्वमा संवैधानिक संकट आएको उल्लेख गर्दै त्यसको समाधान अर्ली महाधिवेशनबाट खोज्नुपर्ने बताएकी थिइन् । सोही सन्दर्भमा उनले अध्यक्ष नेपालप्रति लक्षित गर्दै ‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिले पार्टीभित्र तीव्र असन्तुष्टि जन्माएको छ । पार्टी अनुशासन आयोगले झाँक्रीलाई लिखित स्पष्टीकरण मागिसकेको र त्यसको जवाफका आधारमा सचिवालय बैठकमा छलफल गरी निर्णय लिने तयारी भइरहेको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । ‘उहाँको गलत अभिव्यक्तिबारे सचिवालय बैठकमा छलफल हुन्छ, जवाफ आएपछि आवश्यक निर्णय गरिनेछ,’ पाण्डेले बताए ।

पार्टीका नेताहरूले झाँक्रीको शब्द चयन आपत्तिजनक रहेको भन्दै अनुशासनको कारबाहीको माग गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष तथा दलको उपनेता रहेका राजेन्द्र पाण्डेले समेत झाँक्रीको भाषा अनुचित भएको टिप्पणी गर्दै अनुशासनको कारबाही हुने बताएका छन् । ‘एउटा राजनीतिक कार्यकर्ताले बोल्ने भाषा त्यस्तो हुन्छ ? उहाँलाई अनुशासनको कारबाही हुन्छ, गर्नुपर्छ,’ पाण्डेले भने ।

यता झाँक्रीकै इन्चार्जमा रहेको अनेरास्ववियुमा समेत विवाद चुलिएको छ । अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा असन्तुष्ट समूहले नरेश न्यौपानेको अध्यक्षतामा असार १५ गते समानान्तर कमिटी घोषणा गरेपछि विद्यार्थी संगठनमा द्विविधा बढेको हो । श्रेष्ठलाई अध्यक्ष नेपालनिकट र न्यौपानेलाई झलनाथ खनाल तथा महासचिव घनश्याम भुसालनिकट मानिन्छ ।

यसबीचमा अध्यक्ष माधव नेपाल संसदबाट निलम्बनमा परेपछि संसदीय दलको नेताबाट स्वतः हटिसकेको विषयमा पनि बहस चलिरहेको छ । वरिष्ठ उपाध्यक्ष पाण्डेले संसद पद निलम्बन भइसकेका नेपाल अब दलको बैठकमा सहभागी हुन नसक्ने र त्यसअनुसार संसदीय दलको नयाँ नेता चयनको प्रक्रिया अघि बढ्ने संकेत गरेका छन् । पार्टीभित्रको यो क्रमिक विवादले एकीकृत समाजवादीमा आन्तरिक अस्थिरता बढ्दै गएको छ ।

१८ असार २०८२, बुधबार १३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा