पोखरा, पोखरा महानगरपालिकाको पर्यटकीय क्षेत्र लेकसाइडको गौरीघाटस्थित पुरानो र एतिहासिक चौतारोलाई जीर्णोद्वार गरेर स्थानीय बासिन्दाहरुलाई हस्तान्तरण गरिएको छ । चौतारोको मर्मतसंगै हरियाली प्रवर्द्वनका लागि वातावरणमैत्री पार्क पनि निर्माण गरिएको छ ।
लामो इतिहास बोकेको उक्त चौतारो स्थानीय एबम घुम्न आएका पर्यटकहरुले जथाभावी फोहोर फालेर डम्पिङ साइडको रुपमा परिणत भएपछि डिभिजन वन कार्यालय कास्कीले चौतारो जीर्णोद्वारका लागि चासो देखाएको हो । डिभिजन वन कार्यालयको चार लाख रुपैयाँ आर्थिक सहयोग र उपभोक्ताबाट १ लाख २ हजार ९ सय ५१ रुपैयाँ बराबरको जनसहभागिता जुटाएर उक्त चौतारोको मर्मत संगै पार्क निर्माण गरिएको हो।
पोखरा महानगरपालिका वडा न. ६ कार्यालयको समन्वयमा चौतारो जीर्णोद्वार र वातावरणमैत्री पार्क निर्माण गरि स्थानिय उपभोक्ताहरुलाई नै हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले चौतारो जीर्णोद्वार र वातावरणमैत्री पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्वन गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।
उनले चौतारो संरक्षण र पार्क निर्माण सुरुवाती चरणमा रहेको बताउँदै अब यसको दिगो संरक्षण र संवर्द्वनका लागि स्थानिय उपभोक्ता, डुङ्गा व्यवसायी समिति र वडा कार्यालयको भूमिका महत्वपूर्ण रहने बताए ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले पर्यटकीय एरियामा रहेको चौतारो र आसपासका क्षेत्र डम्पिङ साइडको रुपमा परिणत भएको हुनाले चौतारोलाई मूर्त रुप दिने र प्राकृतिक वातावरण कायम गर्ने चौतारो मर्मत र पार्क निर्माण गरिएको बताए ।
नागरिक समाज कास्कीका पूर्व संयोजक विष्णुहरि अधिकारीले चौतारीको जीर्णोद्वार र हरियाली प्रवर्द्वन उत्कृष्ट कार्य भएको बताउँदै उक्त संरचना नामको मात्र नभएर बस्न मिल्ने, योग गर्न मिल्ने, पर्यटकलाई लोभ्याउने किसिमको नमुना कार्य भएको बताए । फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव जिसीले गरेका थिए ।