पोखरा, यहि असार महिनाबाट कास्की जिल्ला भित्र नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको बुझिएको छ । ढुङ्गा, गिटि , बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ को कानुनी ब्यबस्था बमोजिम उक्त निर्णय गरिएको कास्की जिल्ल्ला समन्वय समितिले जनाएको छ।
असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने कुरा ढुङ्गा, गिटि, बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ उल्लेख भएको आधारमा उक्त निर्णय गरिएको हो। सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरीने सो समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
पौडेलले उक्त कार्यमा संलग्न ब्यबसायी तथा आपूर्तिकर्ता र सरोकारवालाहरू सहित आमनागरिकहरु सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन समेत आग्रह गरेका छन।
बैठकले नदिजन्य पदार्थको मौज्दात आर्थिक बर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाकी मौज्दात सम्बन्धित पालिकाले जफत गरि लिलाम गर्ने कानुनी ब्यबस्थालाइ कडाइका साथ लागू गर्न कास्कीका सबै पालिकालाइ निर्देशन दिने निर्णय गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले गुरुकुल खबरलाई जानकारी दिए।
संचालनमा रहेका खानी ,क्रसर तथा प्रसोधन उधोगले असार मसान्त भित्र आफ्नो उत्पादनको बार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्बजनिक गरि सो को जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने ब्यबस्थालाई समेत कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको बरालले जानकारी दिए।
बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत विभिन्न पालिकाका जनप्रतिनिधि र सुरक्षा एबम प्रशासनिक निकायका अधिकारीहरुको सहभागिता रहेको थियो।