काठमाडौँ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कार्यकक्षमा लिफ्ट जडान गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अभियन्ता युवराज सफलले लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा (११) बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा, विना टेण्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जडान गरिएको भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन
युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित बिहीबार महानगरका मेयर बालेन साहविरुद्ध अख्तियारमा उजुरी दिएको बुझिएको छ। उनले मेयर साहले केही महिना अघि महानगरमा विना प्रतिस्पर्धा, विना टेण्डर र विना कोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेको उजुरीमा उल्लेख गरेका छन् ।
उजुरीमा भनिएको छ, ‘विशेषत सो लिफ्ट मेयर बालेन साहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाले नयां लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा (११)बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा विना टेण्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो ।’