Play

माधव नेपालसहित संघिय संसदका चार सांसद निलम्बनमा, मुद्दा नटुंगिदासम्म निलम्बन यथाबत रहने

समाजबादी, रास्वपा, एमाले र कांग्रेसका एक एक सांसद निलम्बनमा, राप्रपाकी सांसद फरार


गुरुकुल खबर


पोखरा, विभिन्न अभियोगका लागेको कारण अहिलेको प्रतिनिधि सभाका चारजना बहालवाला सांसद निलम्बनमा परेका छन। बिहिबार  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेसंगै संघिय संसदमा रहेका चारजनाको सांसद पद निलम्बनमा परेको छ। मुद्दा किनारा नलागेसम्म उनीहरुको सांसद पद निलम्बनमा पर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै राष्ट्रसेवकविरूद्ध मुद्दा दर्ता भएमा र सो मुद्दाको किनारा नभएसम्म उनीहरुको पद स्वतः निलम्बनमा रहने ब्यबस्था बमोजिम पुर्ब प्रधानमन्त्री नेपाल सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति एबम पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका सांसद एबम पुर्ब संचारमन्त्री  मोहनबहादुर बस्नेत र नेकपा (एमाले) का सचिव समेत रहेका पुर्ब मन्त्री टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको हो।

पुर्ब प्रधानमन्त्री नेपाल रौतहट–१ बाट निर्वाचित सांसद हुन्। पतञ्जली योगपीठले जडिबुटीको खेती गर्न र आयुर्वेदिक अस्पताल खोल्न पाएको हदबन्दी छुट जग्गा बेच्न दिने निर्णय गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो।  भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनको सांसद पद निलम्बन गरेको हो। उक्त ऐनको दफा ३३ मा यससम्बन्धी व्यवस्था छ।

चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति समेत रहेका पुर्ब उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद पनि निलम्बनमा छ। सहकारी बचत ठगी तथा अपचलन र संगठित अपराधसमेतको मुद्दामा उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। उनीविरूद्ध सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ। त्यही मुद्दा विचाराधीन रहेकाले सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।

यसैगरी नेपाली कांग्रेसका सांसद एबम पुर्ब संचार तथा सूचना प्रबिधि मन्त्री मोहनबहादुर बस्नेतको सांसद पद पनि निलम्बनमा छ। उनी सिन्धुपाल्चोक–२ का प्रतिनिधि सभा सदस्य हुन्। उनीविरूद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। टेरामक्स प्रकरणमा गत जेठ १ गते उनीमाथि मुद्दा दर्ता भएकाले अख्तियार दुरूपोग अनुसन्धान आयोगसम्बन्धी ऐन २०५९ अनुसार नै उनको सांसद पद निलम्बन परेको हो।

यसैगरी अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको सांसद पनि निलम्बनमा छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी २०८० असार १ गते पुर्पक्षका लागि जेल चलान भएका थिए। उनी उक्त मुद्दामा जेल चलान भएसँगै सांसद पद निलम्बनमा परेको थियो। उनि माओबादीका पूर्व नेता रहेकोमा माओबादी र एमालेको एकीकरण पछि माओबादीमा नफर्कीकन एमालेमा बसिरहेका थिए।

यता राप्रपाकी समानुपातिक सांसद गीता बस्नेत भने लामो समयदेखि फरार छिन्। सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारीपछि उनी सम्पर्कविहीन बनेकी हुन्। नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो। उनी त्यसअघिदेखि नै प्रतिनिधि सभा बैठकमा अनुपस्थित छिन्।

वैशाख १८ गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार भएकी हुन्। सांसद बस्नेतले चितवनको सनराइज सहकारीबाट २० करोड, बर्दियास्थित नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको छिपछिपे सहकारीबाट एक करोडभन्दा बढी बचत रकम ज्वाइँ नगेन्द्रबहादुर रिमाल लगायतबाट उनले झिकेर दुरुपयोग गरेको आरोपलागेको छ। उनि फरार रहेको कारण उनको सांसद पद भने अझै सम्म निलम्बनमा परेको छैन।

२२ जेष्ठ २०८२, बिहीबार २१:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा