पोखरा, काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ । निषेधित क्षेत्र तोड्न खाजेपछि सोमबार दिउँसो पक्राउ गरिएकामा बेलुका सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन् । साँझ रिहा भएका उनीहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गरेका थिए। राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए ।
उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौज समेत गरेको भन्दै उनलाई हिरासतमै राखिएको प्रहरी उपरीक्षक बोहराले बताए । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।