पोखरा, पोखरामा पिउने पानीको मुहान भनेर चिनिने मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेका छन् । मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालकहरू कक्षा ८ मा अध्ययनरत थिए।
विशालले खोलाले बगाएका दुई साथीमध्ये अर्का साथीलाई निकालेर बचाएको तर आफू भने डुब्न पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । अस्तामका ६ जना गाउँका साथीहरू बिदाको दिनमा बल खेल्ने भन्दै तीन किमि पर पुगेका थिए । सोहि क्रममा गर्मी भयो भन्दै उनीहरू खोलामा पुगेको मृतक बालकका साथीहरूले बताएका छन् । बिहीबार गणतन्त्र दिवस भएकाले सार्वजनिक बिदा हुँदा विद्यालय छुट्टी थियो ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले बालकहरूको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको जनाएको छ ।
स्थानीयले भने मुहान क्षेत्रमा क्रसर चलाइएको र त्यसका कारण खानेपानी नै फोहोर हुन पुगेको भन्दै खानेपानी कार्यालय तथा प्रशासनले बेवास्ता गर्दै आएको बताएका छन् । खानेपानीको मुहान क्षेत्रमै पौडी खेल्न निषेध नगर्दा पोखरेलीको खानेपानी श्रोत फोहोर हुँदै आएको छ भने यसरी बालबच्चाहरूको ज्यान जान पुगेको छ ।