पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा १२ लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजक मानवसेवा फाउन्डेसनले जनाएको छ । बिशेष गरि शनिबार र अन्य बिदाको दिनमा भक्तजनहरुको संख्या धेरै हुने गरेको छ। बुधबार एकैदिनमा तिस हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको तर यस अगाडिका शनिबारहरुमा दैनिक एकलाख सम्मको सहभागिता रहने आयोजकको भनाई छ ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीमजराजका अनुसार कोटीहोममा सहभागी हुन पोखरा भित्रबाट मात्र नभएर नेपालका अधिकांश जिल्लाबाट व्यक्तिगत, पारिवारिक एबम सामुहिक रुपमा आउनेहरुको संख्या बढ्दै गएको छ। ‘कोटीहोम महायज्ञ सकिन अब १०/१२ दिन मात्र बाँकी रहेको अबस्थामा टाढाटाढाबाट पनि कोटीहोममा सहभागी हुन आउछौ भन्नेहरुको संख्या उल्लेखनीय रहेको छ।’ उनले भने उनका अनुसार नेपाल बाहिर भारतका विभिन्न स्थानबाट पनि गाडी रिजर्भ गरेर कोटीहोममा सहभागी हुन आउने भक्तजनहरुको संख्या उल्लेखनीय रहेको कारण अन्तराष्ट्रिय स्तरमा समेत महायज्ञले ब्यापकता पाएको छ ।
कोटीहोममा बुधबार पनि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले कथाबाचन गरेकी थिईन। उनले यहि जेठ १६ गतेसम्म कथाबाचन गर्ने र त्यसपछि भागवत मञ्जरी राधिका दासीले कथा बाचन गर्ने कार्यक्रम रहेको छ। कोटीहोममा देबी प्रतिभाको दोस्रो आगमन हो । भारतमा महत्वपूर्ण कार्यक्रम छोडेर दोस्रो पटक कोटीहोममा सहभागी बन्न आएको भन्दै उनले नेपालीको माया अनि पोखरेलीको मायाले आफुलाई दोश्रोपटक पोखरा तानेको बताईन।
कोटीहोममा नेपाल र भारतबाट साधु, सन्त, महन्तको आगमनले निरन्तरता पाइरहेको छ । अनुराधा पाण्डेद्वारा श्यामद्भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन्।
वक्तृत्वकला प्रतियोगितामा तनहुँका भण्डारी प्रथम
यसैबीच कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । प्रतियोगितामा पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी कुश्मा पर्वतस्थित नमूना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रीत्तिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै २१ हजार एक सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । साथै बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङले प्रतियोगितामा सहभागिता जनाएर जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
आइतबारदेखि शुरु भएको प्रतियोगितामा ९० जनाले प्रतिस्पर्धा गरेका थिए । सहभागीले ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । कोटीहोम हेर्न र वक्तृत्वकलामा सहभागीका तर्क सुन्न पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थीसमेत सहभागी थिए । प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यापाने रहेका थिए ।
विभिन्न धार्मिक अनुष्ठान जारी
कोटीहोममा हरेक दिन चार सय बढी ब्राम्हणले भगवानको नाममा आहुति गर्ने गरेका छन हवन कुण्डका लागि जौ, तिल, घीउलगायतका हवन सामग्री दान गर्ने, हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको छ । कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार ..
गण्डकी कोटिहोमस्थल अगाडीको सडकलाई स्थानीयले नामकरण गरे ‘कोटिहोम चोक’
गण्डकी कोटीहोम: धार्मिक अनुष्ठानसंगै मानबिय, सेवामुलक र सामाजिक कामलाई निरन्तरता दिने क्रम जारी