काठमाडौँ, नेपाली काँग्रेसका नेता एबम नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन। प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचार अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे ।
मलाई उक्त बिषयमा संलग्न रहेको भनि सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणा असत्य र गलत भएको दाबी गर्दै उनले भने ‘यो सबै मेरो विरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले गरिएको आक्रमण हो।’ गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित भएको जिकिर गर्दै आफूमाथिको आक्रमण षड्यन्त्र मुलुक रहेको र यसको क्रमजारी छ भन्ने अनुभूति गरेको समेत उल्लेख गरे।
मन्त्री लेखकले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको यो विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने ढङ्गले विभिन्न प्रचार, समाचार र सामाजिक सञ्जालमार्फत विचार अभिव्यक्ति भएका छन्। यो विषयमा मेरो संलग्नता देखाएर समाचार र सामाजिक सञ्जालमार्फत धारणा अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठिक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँमार्फत निवेदन गर्न चाहन्छु। मलाई मेरो विरुद्धमा नियोजित, षड्यन्त्रपूर्ण ढंगले आक्रमण गरिएको छ। यो आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित छ। षड्यन्त्र मुलुक छ र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु।”
भिजिट भिसामा विदेश जानेसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखकले आरोप खेप्नुपरिरहेको छ। उक्त आरोपपछि मन्त्री लेखकले मङ्गलबार र बुधबारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाई सार्बजनिक गर्ने तयारी गरे पनि विपक्षी दलका सांसदले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ। विपक्षी दलले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने कुरालाई महत्वका साथ् उठाइरहेका छन ।