Play

अमेरिकी विश्वबिद्यालयमा बिदेशी बिद्यार्थी भर्ना रोक्ने नीति लागु गर्ने तयारी

गुरुकुल खबर


अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाका विश्वविद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना रोक्न नयाँ नीति अघि बढाएको छ ।

गत साता हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेज गर्न जारी गरेको आदेश तत्काल कार्यान्वयनमा संघीय अदालतले रोक लगाएपछि राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाभरका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने नयाँ नीति अघि बढाएका हुन् ।

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरुमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरुको भिसा अन्तर्वार्ताका रोक्न निर्देशन दिइसकेको छ ।

अमेरिकाका विश्वविद्यालयहरुमा अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुको सामाजिक सञ्जाल छानबिन गर्नुपर्ने कारण देखाएर तत्कालका लागि भिसा अन्तर्वार्ताहरु स्थगित गर्न निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका रोकेको सोमबार अमेरिकी सञ्चामाध्यमहरुमार्फत सार्वजनिक गरेको हो ।

विदेश मन्त्रालयले सोसल मिडियामा उनीहरुको गतिविधिको स्क्रिनिङ विस्तार गर्ने तयारी गरिरहेकोले केही समय अन्तर्वार्ता रोकिने र अन्तर्वार्ताको अप्वाइन्टमेन्ट पाइसकेकाहरुका लागि लागू नहुने जनाएको छ ।

दूवातासलाई दिइएको निर्देशनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरिसकेको र स्टेट डिपार्टमेन्टले आवेदक विद्यार्थीहरुको सोसल मिडिया जाँचका लागि योजना बनाउने तय भइसकेको एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ । ‘तत्काल अर्को निर्देशन जारी नभएसम्म दूतावासहरुले कुनै पनि तहका विद्यार्थीको भिसा थप्न वा नयाँ भिसाका लागि अन्तर्वार्ता अप्वान्टमेन्ट जारी गर्न सक्दैनन्,’ मन्त्रालयले भनेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्याम्मी ब्रुसले विद्यालयका लागि मात्र नभइ अमेरिका आउने सबैका लागि भिसा जारी गर्नु अघि कडाइका साथ सोधपुछ र अध्ययन गरिने बताइन् । ‘अमेरिका भिसाका लागि आवेदन दिने व्यक्तिहरुको छानबिन गर्नका लागि सबै उपलब्ध स्रोतहरु प्रयोग गछौं,’ उनले भनिन्, ‘हामी यहाँ आउने व्यक्तिहरुको मूल्याङ्कन गर्नका लागि हामी जहाँसम्म सक्छौं, सबै उपकरणहरुको प्रयोग जारी राख्नेछौं, उनीहरु विद्यार्थी हुन् या अरु ।’

हार्वर्डसँगका सबै संघीय सम्झौता रद्द गरिने

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयका सबै संघीय सम्झौता रद्द गर्न निर्देशन दिएको छ । विदेशी विद्यार्थी भर्ना र व्यवस्थापन खारेज गर्न निर्देशन दिए पनि कार्यान्वयनमा संघीय अदालतले रोक लगाएपछि ट्रम्प प्रशासनले मंगलबार बाँकी सबै संघीय सम्झौता र अनुदान रद्द गर्न निर्देशन दिएको हो ।

हार्वर्डले संघीय सरकारबाट पाउँदै आएको अनुदान रकम, सुविधा र विश्वविद्यालय सञ्चालनका लागि पाउने प्राविधिक सहयोगसमेत रद्द गर्न निर्देशन गरिसकेको जनरल सेवा प्रशासनका अधिकारी जोश ग्रुएनबामले जनानकारी दिएको सीएनएनले उल्लेख गरेको छ । संघीय सम्झौता रद्द कार्यान्वयन भएमा ४२.६५ बिलियन अमेरिकी डलरको नोक्सान हुने हार्वर्ड प्रशासनको दाबी छ ।

हार्वर्डका अध्यक्ष एलन गार्बरले सरकारको निर्णय शिक्षाको स्वतन्त्रतामाथिको प्रतिशोधात्मक कारबाही भएको भन्दै विरोध जनाउँदै आएका छन् । गार्बरले सरकारले सबै सम्झौता रद्द गर्ने निर्णय गरेर अमेरिकी शिक्षा क्षेत्रमै असर पार्न खाजेको बताएका छन् ।

हार्वर्डमा हाल ९ हजार ९ सय ७० जना विदेशी विद्यार्थी अध्ययनरत छन् । यो संख्या कूल विद्यार्थीमध्ये २७ प्रतिशत हो । जसमध्ये ०.३ अर्थात २२ जना नेपाली विद्यार्थीसमेत छन् । १ सय ४७ देशका विद्यार्थी रहेको हार्वर्डमा अध्ययनका लागि ३५ प्रतिशत कोटा अमेरिकाबाहिरका लागि छुट्याइएको छ ।

१४ जेष्ठ २०८२, बुधबार २१:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा