पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा कास्कीको अन्नपूर्ण गाउँपालिका सल्यानका विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् । उनीहरुले मानव सेवा फाउन्डेसनले स्थापना गर्ने आश्रमको लागि उक्त जग्गा हस्तान्तरन्न गरेको बुझिएको छ ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमको नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग जुटाउन पनि पोखरामा कोटिहोम सञ्चालन भएको हो ।
बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कोटिहोम महायज्ञ पश्चात् पनि पोखरामा कार्यक्रम गर्नको लागि आश्रम निर्माण गर्ने र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण गर्ने जानकारी समेत दिएका छन, पछिल्लो समय महायज्ञमा नगदसंगै जग्गा समेत दान गर्नेहरु बढेको छन ।
महायज्ञमा पोखराका उधोगपती सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले आफ्ना पतिको नाममा फाउन्डेसनमा आश्रित दुई जनाको अभिभावक बन्ने उद्धेश्यले आजीवन सदस्य रहने गरी दुईलाख रुपैया प्रदान गरेकी छन । यसका साथै पोखरा भित्र र बाहिरबाट आएका हजारौं भक्तजन सहित विभिन्न व्यक्ति र संस्थाहरुको तर्फबाट पनि कोटीहोममा दिनहुँ लाखौँ रुपैयाँ दाङ संकलन भैरहेको छ।
कोटिहोममा शनिवार देखि अन्तर्राष्ट्रिय कथावाचीका देवी प्रतिभाले कथा वाचन शुरु गरेकी छन । २५ जनाको समूहका साथ दोश्रो पटक पोखराको यो महायज्ञमा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म प्रवचन दिने कार्यक्रम रहेको छ । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ ।
वक्तृत्वकला प्रतियोगिता शुरु
कोटिहोममा शनिबार देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगिको सहभागिता रहेको प्रतियोगिता संयोजक संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।
उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।
पोखरा- १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।