पोखरा, गण्डकी प्रदेश सभामा मुस्तांग जिल्लाबाट निर्बाचित सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने चेतावनी दिएका हुन्।
(कोट र कालो चस्मामा प्रदेश सांसद विकल शेरचन )
उनले शनिबार दिउसो भएको कांग्रेस संसदीय दलको बैठकमा असन्तुष्टी ब्यक्त गरेर बिचैमा बैठकबाट निस्किएका थिए । बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको कार्यशैली प्रति उनले तिब्र असन्तुष्टी प्रकट गरेको नेपाली काँग्रेसका अर्का सांसदले गुरुकुल खबरलाई जानकारी दिए ।
नेपाली कांग्रेसको तर्फबाट मुस्ताङ ख बाट निर्वाचित प्रदेश सांसद शेरचनले आफ्नो सामाजिक संजालमा शनिबार बेलुकी राखेको राजिनामाको नमुनाले अहिले ब्योपक चर्चा पाएको छ उनले संजालमा राखेको राजीनामको नमुना यस प्रकार छ ।
श्रीमान् सभामुखज्यू
गण्डकी प्रदेशसभा, पोखरा
गण्डकी प्रदेश, नेपाल
विषय: प्रदेशसभा सदस्य पदबाट राजीनामा पेश गरिएको बारे
श्रीमान्, गहिरो आत्ममन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. बिकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेश गर्न चाहन्छु। गत दुई वर्षको अवधिमा मैले आफ्नो सबै क्षमताका साथ मुस्ताङका जनताको पक्षमा आवाज उठाउने प्रयास गरें। तर दुःखका साथ भन्नुपर्दछ, हामीले निर्माण गरेका बजेटहरू—विशेष गरी हाल तयार पारिँदै गरेको बजेट समेत—जनताको वास्तविक आवश्यकता, विशेष गरी दुर्गम क्षेत्रका मागहरूलाई सम्बोधन गर्न असफल भएका छन्।
मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने हो, तर हाम्रो बजेटीय कार्यशैलीले बारम्बार यस जिल्लालाई पछाडि पार्ने प्रवृत्ति देखाएको छ। पूर्वाधार, आर्थिक सशक्तिकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने मेरो आग्रहहरूलाई बेवास्ता गरिएको अनुभव हुँदै आएको छ।
म यसरी जनताको आवश्यकता र अपेक्षाको उपेक्षा गर्ने प्रणालीमा सहभागी हुन चाहन्न। मेरो राजीनामा कुनै भागदौड होइन, बरु यो एक आन्तरिक विरोध हो—एक जिम्मेवार अपिल हो, जसले हाम्रो राजनीतिक तथा नीति निर्माण प्रणालीमा आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ।
जनताको सेवा मेरो धर्म हो, र त्यो मार्गमा म आगामी दिनमा पनि प्रतिबद्ध रहनेछु।
धन्यवाद
मा. बिकल शेरचन
प्रदेशसभा सदस्य
मुस्ताङ जिल्ला १ (ख) गण्डकी प्रदेश
(यदि हाम्रा मागहरू पूरा भएनन् भने, मैले कल्पना गरेको एउटा मस्यौदाको नमुना हो है साथीहरू)