काठमाडौँ, केहि दिन अगाडी काठमाडौँमा सम्पन्न गैर आवाशीय नेपाली संघको एकता महाधिबेशनबाट निर्बाचित महेश श्रेष्ठ नेतृत्वको टिमलाई आधिकारिकता दिँदै पराराष्ट्र मन्त्रालयले विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर पठाएको छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनबाट महेश श्रेष्ठ नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो सोहि जानकारी सहित परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका नेपाली दूतावासलाई सर्कुलर पठाएको हो । संघका पुर्ब अध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो ।
यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन ।
‘श्रेष्ठ नेतृत्वको एनआरएनएसँग सहकार्य गर्नका लागि संसारभरका कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेकोमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सचिव अमृतकुमार राई सहित सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘संसारभरका एनसीसीहरुलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै आईसीसीसँग समन्वय गरेर संस्थागत हितका लागि काम गर्न अनुरोध पनि गर्दछौं ।’ उनले बिज्ञप्ती मार्फत भनेका छन ।
यस अगाडीको महाधिबेशनबाट निर्बाचित बद्री केसी नेतृत्वको एनआरएनलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन कायमै रहेको बुझिएको छ । केसी पक्षले कात्तिकसम्म आफ्नो कार्यकाल रहेको भन्दै आफू आधिकारिक रहेको दाबी गर्दै आएको छ ।