पोखरा, ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’ का बारेमा चरणबद्ध छलफलका साथ लोमान्थाङ घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन – २०२५ सकिएको छ । यहि वैशाख २७ गते काठमाडौंबाट सुरु भएको मिडिया समिट अर्थात मिडिया सम्मेलन पोखरा, पर्वत, म्याग्दी, जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो । लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा र जलवायु संकटका लागि जुध्न सम्मेलनले सरोकारावालाको ध्यानाकर्षण समेत गराएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) सँगको सहकार्यमा गरिएको मिडिया सम्मेलनमा नेपालका सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, बुलगेरिया लगायत देशका पत्रकारको सहभागीता रहेको थियो । सम्मेलनमा करिब एक सय चालिस स्वदेशी तथा विदेशी पत्रकारको सहभागिता रहेको थियो । सम्मेलनमा अन्तराष्ट्रिय पत्रकार महासंघकी उपाध्यक्ष सबिना इन्दरजित सहि विभिन्न मुलुकका पत्रकारहरु, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व कार्यबाहक अध्यक्ष बाला अधिकारी लगायत महासंघको विभिन्न जिम्मेवारीमा रहेका पत्रकारहरु सहभागी थिए।
यसैगरि नेपाल प्रेस युनियनका पूर्व अध्यक्षहरु रमेश तुफान र कुलचन्द्र वाग्ले, अग्रज पत्रकार तेजप्रकाश पण्डित, न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्ब अध्यक्ष एबम नेपाल पत्रकार महासंघ र प्रेस युनियनका पुर्ब केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, बरिष्ठ पत्रकार हरि बहादुर थापा, डा. जगत नेपाल, अकोर्याबका पुर्ब अध्यक्ष किशोरजंग थापा लगायत नेपाल प्रेस युनियनका केन्द्र, विभिन्न प्रदेश र जिल्लाका पदाधिकारी एबम अन्यको सहभागिता रहेको युनियनका गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए । पोखरामा आयोजित कार्यक्रममा भने पत्रकार महासंघका पुर्ब अध्यक्ष बिपुल पोखरेल, बर्तमान बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, पुर्ब महासचिब पोषण केसीलगायत पनि सहभागि थिए ।
युनियनका अध्यक्ष शिब लम्साल सहित सम्मेलनका केहि प्रतिनिधिहरु लोमान्थांग पुगेर सार्बजनिक गरिएको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चारको हक र सूचना अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । बढ्दो जनअसन्तोष, संघीयतालाई कमजोर तुल्याउने प्रयास र कुशासनजस्ता समस्याबाट लोकतन्त्रमाथि खतरा बढिरहेको सन्दर्भमा राजनीतिक दलहरू र नागरिक समाजबीच पारस्परिक सहकार्य र संवादलाई लोकतन्त्रको मजबुतीका लागि अपरिहार्य मानिएको घोषणापत्रमा उल्लेख छ । विश्वभर प्रेस स्वतन्त्रतामाथि भइरहेको आक्रमण, पत्रकारहरूमाथि हिंसा, धम्की र दण्डहीनता बढिरहेको भन्दै सम्मेलनले अफगानिस्तानको गाजा लगायतका क्षेत्रमा सञ्चारकर्मीमाथि भएका हमलाको विरोध पनि गरेको छ।
यसको साथै पत्रकार सुरक्षाको सुनिश्चितताका लागि सम्मेलनले अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाएको नेपाल प्रेस युनियनका अध्यक्ष शिब लम्सालले जानकारी दिए । अध्यक्ष लम्सालका अनुसार घोषणापत्रमा नेपालमा डिजिटल माध्यम नियन्त्रणको नाममा अभिव्यक्ति स्वतन्त्रताको खुम्च्याउन खोजिएकामा विरोध गर्दै सबै तहका सरकारलाई अनुकूल नीति निर्माण र पत्रकारहरूको अधिकारको संरक्षण गर्न आग्रह गरिएको छ ।
घोषणापत्रमा जलवायु संकटलाई मानव अस्तित्व र लोकतन्त्रका लागि गम्भीर खतरा मानिएको छ । जलवायु परिवर्तनबाट सूचनाको पहुँच, अभिव्यक्ति स्वतन्त्रता र वातावरणीय न्यायमा प्रत्यक्ष असर पर्ने भन्दै जानकारीमूलक समाज निर्माणमा प्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रस्ताव घोषणापत्रमा गरिएको छ । राजनीतिक दलहरूलाई जलवायु संकटलाई प्राथमिक एजेन्डा बनाउँदै ठोस नीति र कार्यक्रममार्फत सम्बोधन गर्न विशेष आग्रह गरिएको युनियनका महासचिब दिलिप पौडेलले जानकारी दिए ।
घोषणापत्रमा हिमाली जिल्ला मुस्ताङको सांस्कृतिक, धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग जुध्न विशेष ध्यान दिनुपर्ने उल्लेख छ । यसैगरि मुस्तांगबाट चीन प्रवेश गर्ने कोराला नाकाको सहज सञ्चालन र कालीगण्डकी करिडोरको निर्माण पूरा गर्न संघीय सरकारको समेत ध्यानाकर्षण गरेको छ भने मुक्तिनाथ – दामोदर कुण्ड – कैलाश मानसरोवर मार्गको पुर्वाधार तयार गरि त्यस क्षेत्रको सांस्कृतिक र धार्मिक पर्यटन प्रबर्द्दन गर्न पनि घोषणापत्र मार्फत आह्वान गरिएको छ ।
सम्मेलनले मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र वातावरण संरक्षण एकअर्कासँग गासिएको विषय भएकाले संयुक्त प्रयास आवश्यक रहेको स्पष्ट पारेको छ । सहभागीहरूमध्ये धेरैले यो घोषणापत्रलाई ऐतिहासिक ठहर गर्दै पत्रकारिता, लोकतन्त्र र वातावरणबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरेका छन् ।
उपराष्ट्रपति रामसहाय यादवले काठमाडौंमा बैशाख २७ गते उद्घाटन गरेको लोमान्थांग अन्तराष्ट्रिय मिडिया समिटको दोस्रो दिन पोखरामा विभिन्न तीनवटा विषयमा अलग अलग सेसन सञ्चालन गरिएको थियो । सम्मेलन अन्तर्गत ‘जलवायु संकट र पत्रकारिता’ शिर्षकमा पहिलो सत्रमा छलफल भएको थियो । दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको थियो ।
पोखराको कार्यक्रम सकेर तेश्रो दिन मुस्तांग तर्फ लागेका मिडिया सम्मेलनका सहभागीहरुलाई कास्कीको अन्नपुर्ण गाउँपालिकाले नाउडांडामा स्वागत गरेको थियो । त्यस अबसरमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख बिष्णुबहादुर केसी र प्रमुख प्रशासकीय अधिकृत बिष्णु पोखरेल,प्रेस युनियनका अध्यक्ष शिब लम्साल, अन्तराष्ट्रिय पत्रकार महासंघका उपाध्यक्ष सबिना इन्द्रजीत लगायतले आआफ्नो भनाई राखेका थिए अन्नपुर्ण गाउँपालिका पछी मिडिया सम्मेलनका सहभागीहरु पर्बतको जलजला गाउँपालिकाका प्रतिनिधिहरुसंग पनि केहि समय छलफलमा जुटेका थिए।
सम्मेलनको चौथो दिन मुस्तांगको जोमसोममा स्थानीय सर्बसाधारण र जनप्रतिनिधिहरुसंग जलवायु संकटका बारेमा मिडिया सम्मेलनका सहभागीहरुले छलफल गरेका थिए। त्यसपछि सम्मेलनका सहभागीहरु मध्ये केहि प्रतिनिधिहरु लोमान्थांग पुगेर सम्मेलनको घोषणापत्र सार्बजनिक गरेका थिए भने अन्य सहभागिहरु जोमसोमबाट मुक्तिनाथ मन्दिरको दर्शन गरेर बाग्लुंग फर्किएका थिए।
सम्मेलनको पाँचौ दिन बिहान बाग्लुंगमा नेपाल प्रेस युनियन जिल्ला समितिले आयोजना गरेको बाग्लुंगका पर्यटकीय गन्तब्य र प्रबर्द्दन बिषयक छलफल कार्यक्रममा बाग्लुंग नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, बडीकालिका गाउँ पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बाग्लुंग उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल प्रेस युनियन बाग्लुंगका अध्यक्ष संगम घर्तीमगर लगायतले आआफ्नो भनाई राखेका थिए ।
बाग्लुंगमा कार्यक्रम सकेर सम्मेलनका सहभागिहरु बुधबार नै पोखरा हुँदै आआफ्नो गन्तब्य तर्फ लागेको छन। सम्मेलनका सहभागिहरुले पोखराबाट मुक्तिनाथ मन्दिरसम्म पुग्ने क्रममा विभिन्न पर्यटकीय एबम धार्मिकस्थलको समेत अबलोकन गरेका थिए।