पोखरा, एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन क्षेत्रका विज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन करिब ६५ मुलुकका १ सय २० जना पोखरामा आएको र उनीहरुको बैठक वैशाख २७ गतेसम्म चल्ने जानकारी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गुरुकुल खबरलाई दिएका छन।
बैठकमा एसिया प्यासिफिक क्षेत्रमा हवाई उड्डयनले सामना गरिरहेका वन्यजन्तुजन्य जोखिमहरूको अवस्था, ती जोखिम न्यूनीकरणका उपायहरू, समाधानका सम्भावना र उड्डयन सुरक्षालाई बलियो बनाउने रणनीतिमाथि छलफल हुँदैछ। विज्ञहरूका अनुसार, यस्ता बैठकहरूले क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्दै हवाई सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
बैठकको उद्घाटन सत्रमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमहरू पहिचान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री पाण्डेका अनुसार, नेपाल सरकार यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने तथा प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्न प्रतिबद्ध छ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलताप्रति महानगरपालिका सजग रहेको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनअघि नजिकैको ल्याण्डफिल साइड स्थानान्तरण गरेर सहज वातावरण तयार गरिएको बताए। “ल्याण्डफिल स्थानान्तरण सजिलो थिएन, तर आवश्यक थियो। धेरै चुनौतीका बीचबाट निर्णय लिइयो र एक महिनाभित्रै सुरक्षित दूरीमा सारियो,” नगर प्रमुख आचार्यले भने।
“राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यमार्फत मात्र हामी आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ भन्दै मेयर आचार्यले पोखरा सहरलाई हवाई सेवाको माध्यमबाट विश्वसँग जोड्न चाहेको उल्लेख गरे।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, आइकाओ एसिया प्यासिफिक क्षेत्रका उप–निर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्याउने तथा सुरक्षासम्बन्धी विद्यमान चुनौतीहरू समाधान गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको छ।
यसैबीच नेपालका सबैजसो एअरलाइन्स कम्पनीका अध्यक्ष सहित संघिय सरकारका पर्यटन मन्त्री र पोखरा महानगरको संयुक्त बैठक राखेर पोखराबाट मुलुकका सातवटा प्रदेशमा हवाईसेवा संचालन गर्ने बिषयमा आबश्यक पहल गर्ने प्रयास भैरहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। उनले सातवटै प्रदेशमा हवाई सेवा संचान हुनसके पोखराको पर्यटनमा सघाउ पुग्ने समेत बताए ।