Play

कास्की आदर्श समाज कतार: भित्तेपात्रो सार्बजनिक र सहयोगीलाई सम्मान, कस्केलीको विश्व सम्मेलनको तयारी

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट कतारमा गएर विभिन्न पेशा ब्यबसाय गर्दै बसेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले नयाँ बर्ष २०८२ को भित्तेपात्रो प्रकाशन गरेको छ। समाजले कास्कीको पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा भित्तेपात्रोको बिमोचन सहित नेपाली नयाँ बर्ष आगमनको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम र समाजलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल उद्देश्यका साथ सन २००२ मा स्थापना गरिएको संस्थाले प्रकाशन गरेको  भित्तेपात्रो पोखरा -६ बैदामस्थित श्री केदारेश्वर महादेव मणि सेवाश्रम समितिका पीठाधिस स्वामी चिद्घन चैतन्य डा.लेखनाथ आचार्यले सार्बजनिक गरेका थिए ।त्यस अबसरमा बोल्दै पिठाधिस डा.आचार्यले युवाहरुलाई विदेशमा पठाउन भन्दा देशमा नै रोजगारीको अवसर सृजना गर्न सकेमा नागरिकको समृद्धि र देशको विकास सम्भव हुने धारणा राखेका थिए।

उनले देशमा नेतृत्व गर्ने नेताहरुले रोजगारीको सृजना गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नितिगत र व्यवहारिक काम गर्नुपर्नेमा जोड दिँदै परिवार छाडेर विदेशिनुलाई पनि सुखद अबस्थाको रुपमा लिनुपर्ने बाध्यता सिर्जना भएको बताए । “कसैलाई पनि विदेशिनु रहर नभएर बाध्यता बन्न पुगेको छ, गाउँ, शहर खाली हुँदै जानु देशको नै दुर्भाग्य भएको ठान्दछु, युवाहरुको उर्वर समयलाई विदेशी भुमिमा श्रम गरेर पसीना बगाउनु देशको लागी सुखद नभएको सबैलाई जानकार नै छ, राज्यका नियमन निकायमा रहेकाहरुले सोच्ने र गर्ने बेला आएको छ ।” उनको भनाई थियो ।

कास्की आदर्श समाज कतारका अध्यक्ष अगन्धर देवकोटा (अग्नी)ले समाजको स्थापना कालदेखि गरेका बिबिध गतिविधिहरुको बारेमा चर्चा गर्दै नयाँ र रचनात्मक कामको लागि सुझाब दिन आग्रह गरे। देबकोटाले संस्थाको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई मायाको चिनो, सम्मान पत्र, दोसल्ला र खादाले सम्मान गरिएको जानकारी गराए ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष सन्तोष तिमिल्सिनाले जन्मथलो कास्की रही विविध कारण कर्मथलोको रुपमा कतारमा रहेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले विभिन्न सामाजिक कामहरु गर्दै आएको र अभिलेखको लागि भित्तेपात्रो, स्मारिका, बुलेटिनहरु प्रकाशन गरेको जानकारी गराए । उनले हाल कस्केलीहरुको संस्था विभिन्न २५ मुलुकमा बनिसकेको समेत जानकारी गराए ।

गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल वि.क.(अजय)ले गण्डकी प्रदेश अन्तरगत रहेको कास्की समाजले स्थापनाको मूल उद्देश्य र मर्म अनुसार काम गर्दै आएको र दैबी बिपत्तिको समय र अन्य समयमा गरिएका सामाजिक कार्यले समाजको गरिमा र प्रतिष्ठा बढेको उल्लेख गरे ।

उक्त कार्यक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिव वानियाले अमेरिकाबाट शुभकामना सन्देश पठाउँदै विभिन्न मुलुकमा रहेका कस्केलीहरुका संस्थामध्ये कतारले धेरै गतिबिधि गरिरहेको भन्दै प्रशंशा गरेका थिए। उनले अबको केहि महिनामा हुने कस्केलीहरुको विश्व सम्मेलनको तयारी भैरहेको जानकारी गराए। उनले सम्भव भएसम्म विभिन्न मुलुकबाट ठुलो संख्यामा कस्केलीहरु जुटाउने र कास्की जिल्लाको समग्र बिकासको लागि सम्मेलनले रचनात्मक पहल गर्ने विश्वास प्रकट गरे ।

कार्यक्रममा कास्की आदर्श समाज कतारका सल्लाहकार अमिर श्रेष्ठ, समाजका उपाध्यक्ष कृष्ण भण्डारी, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय समितिका प्रेस सल्लाहकार गंगाधर पराजुली, रुकु देवकोटा, माया भण्डारी, नारायणी थापा र रोशन देवकोटालाई समाजको काममा सहयोग पुर्याएको भन्दै दोषल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियो। सोहि कार्यक्रममा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका सञ्चालक पदम श्रेष्ठ र डिजाइनर जीवन श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा कास्की आदर्श सम्माज कतारका संरक्षक आश बहादुर गुरुङ, सांस्कृतिक संयोजक चोलेन्द्र पौडेल, संस्थापक अध्यक्ष बलराम सापकोटा, संस्थापक सदस्य खिम बहादुर कार्की, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, अन्नपूर्ण गाउपालिका वडा नं. २ का जनप्रतिनिधि पिताम्बर भण्डारी, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालिमाया रेग्मी शर्मालगायतले आआफ्नो भनाई राखेका थिए ।

समाजका अध्यक्ष अगन्धर देवकोटा (अग्नी)को अध्यक्षता र नबिन पौडेलको संयोजकत्वमा भएको उक्त कार्यक्रमको संचालन नारायणी थापा भण्डारीले गरेकी थिईन भने भित्तेपात्रो प्रकाशन समिति सदस्य राजन रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा रुपेश भण्डारी सहितका कलाकारहरुले नृत्य एवम् सांस्कृतिक कार्यक्रम गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

२० बैशाख २०८२, शनिबार ०९:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा