Play

काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी, २६ शिक्षक सहित प्रहरी र पत्रकार घाइते (नामावली र फोटो फिचर)

गुरुकुल खबर


काठमाडौँ, करिब एक महिनादेखि काठमाडौँमा जारी शिक्षकहरुको आन्दोलन आइतबार तनाबग्रस्त बनेपछि भएको झडपमा परि २६ जना शिक्षक सहित केहि पत्रकार र प्रहरी समेत घाइते भएको छन। लामो समयसम्म शान्तिपूर्ण रुपमा चलेको आन्दोलन २६ औं दिनमा तनाबपूर्ण बन्दा ३० जना बढी घाइते भएको बताएपनि कतिपयले भने आन्दोलनका क्रममा प्रहरीको हस्तक्षेपको कारण ६० बढी घाइते भएको दाबि गरेका छन।

काठमाडौँको नयाँ बानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीहरु घाइते भएका छन् । घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, आँखा, हात खुट्टा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट समेत लागेको छ । प्रहरीको लाठि चार्जमा परेर टेलीभिजन पत्रकार सबिना कार्कीको आँखामा चोट लागेको छ भने अन्य घाइतेहरुको पनि शरीरको विभिन्न भागमा चोट लागेको छ ।

चैत २० देखि आन्दोलन गरिरहेका शिक्षकले आइतबार निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएको भएपनि नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले झडपमा परि २६ जना शिक्षकहरु घाइते भएको गुरुकुल खबरलाई जानकारी दिए ।

घाइते भएका शिक्षकहरुमा गोरखाका भगवान शाक्य, सिन्धुपाल्चोकका सुभाष गिरि, बर्दियाका दिप बहादुर घर्ती र पुण्य शर्मा, सिन्धुलीका कमल बहादुर खत्री, महोत्तरीका बिकास राज झा, बझांगका हरीप्रसाद जोशी र ममता कुमारी शाह रहेका छन।

यसैगरी झडपमा परि घाइते भएका अन्य शिक्षकहरुमा सल्यानका शोभाजंग केसी, कंचनपुरका पुण्यमणि जोशी, काभ्रेका भानुभक्त मैनाली, नुवाकोटका विष्णुकुमारी सुबेदी, कैलालीका खड्क मणि, खोटांगका धर्मसिंह सार्की र लीलाभक्त बस्नेत, सिराहाकी देवकुमारी यादव, धनुषाका महेन्द्र शाह बेचैन यादब, र जाजरकोटका तेजबहादुर खत्री रहेका छन्।

अन्य घाइतेहरुमा रौतहटका बिरेन्द्र पण्डित, जुम्लाका देबि शर्मा धिताल र राम बहादुर शाही, झापाका प्रबिण दियाली, कृष्णमाया रिजाल र शान्ता निरौला, अर्घाखाँचीका यज्ञ गौतम र रौतहटकी कुसन कुमारी शाह रहेको नेपाल शिक्षक् महासंघले जनाएको छ।

नेपाल शिक्षक संघ गण्डकी प्रदेशकि सदस्य टिका भण्डारी नेउपानेले सरकारले केहि लाइ घुसपैठ गरेर प्रहरीमाथि एकाएक ढुंगामुढा प्रहार गरेको र त्यसपछि प्रहरीले शिक्षकहरुमाथि दमन गरेर निर्मम तरिकाले कुटपिटमा उत्रिएको र शिक्षकहरुलाई घाइते बनाएको बताइन।

शिक्षा ऐन जारी नभएसम्म आफुहरुको आन्दोलन नरोकिने दाबी गर्दै उनले गुरुकुल खबरसंग भनिन,  “२६ दिन सम्म आन्दोलनमा खटेका शिक्षकहरुलाई दमन गरेर कम्जोर बनाएर आन्दोलन कमजोर पार्ने सरकारको प्रयास कुनै पनि हालतमा सफल हुन सक्दैन ।”

शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको र त्यसपछि प्रहरी र शिक्षकहरुबीच झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएपनि शिक्षकहरुले भने आँफुहरुको आन्दोलनमा सरकारले नै घुसपैठ गरेर शिक्षकहरुलाई भड्काएको आरोप लगाएका छन।

पोखराबाट आन्दोलनको लागि काठमाडौँ पुगेका नेपाल शिक्षक् संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले सरकारले नै केहि व्यक्तिलाई शिक्षकहरुको समूह तर्फ प्रवेश गरेर प्रहरी माथि ढुंगामुढा गरेको र त्यसपछि प्रहरीले शिक्षकहरुमाथि लाठि चार्ज सहित अश्रुग्यास प्रहार गरेको जानकारी दिए।

उनले नेकपा एमालेका केहि नेताहरुले शिक्षकहरुलाई नै दोषी देखाउने गरि अभिव्यक्ति दिएको र कांग्रेसका जिम्मेवार नेताहरु अझै मौन रहेको भन्दै सरकारमा बस्नेहरु जिम्मेवार नबन्ने हो भने आन्दोलन लम्बिने मात्र नभएर थप हिंसात्मक बन्न सक्ने सम्भावना ब्यक्त गरे।

अध्यक्ष क्षेत्रीले सरकारले शिक्षा ऐन जारी गर्ने बिषयमा मन्त्रिपरिषदले निर्णय गरेर संसदबाट पारित गरि कार्यान्वयन गर्नको लागि समय सिमा तोक्न शिक्षक महासंघले आग्रह गरेको भएपनि सरकारमा बस्नेहरुले गैर जिम्मेवारीपन देखाउँदा मुलुकको शैक्षिक क्षेत्र तहस नहस बन्दै गएको बताए।

शिक्षक महासंघ र नेपाल सरकारको बिचमा बार्ता भैरहेपनि निष्कर्षमा पुग्न नसकेको भन्दै आन्दोलनमा सहभागी अर्का शिक्षक भोलानाथ पौडेलले शिक्षक कर्मचारीको आन्दोलनमा आज भएको अमानविय प्रहरी दमनको भत्सर्ना गरे। उनले सोमबार पनि माइतीघर मण्डलामा ११ वजेदेखि २ बजे सम्म आन्दोलनका लागि सबै शिक्षकहरु जम्मा हुने जानकारी दिए।

पौडेलले गण्डकी प्रदेश र कास्की जिल्लाबाट आन्दोलनमा सहभागी शिक्षकहरु सहित सबैलाई आन्दोलनमा सहभागी बन्न आग्रह गर्दै शिक्षक कर्मचारीहरुको हितको लागि, शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि र परिवर्तित शिक्षा ऐन संगै सामाजिक गतिशिलताको लागि शिक्षकहरुले टाउको फुटाउनु परेको उल्लेख गरेको छन।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले पनि सरकारले शिक्षकहरुको आन्दोलनमा घुसपैठ गरेको आरोप लगाए । उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने समेत बताए। सत्तारुढ दलका अधिकांश नेताहरु मौन जस्तै रहेपनि प्रतिपक्षमा रहेका विभिन्न दलका नेताले भने सरकारले शिक्षकहरुको माग पुरा गर्ने तर्फ भन्दा पनि शिक्षकहरुलाई दमन गरेर आन्दोलन कमजोर बनाउने प्रयाश गरिरहेको आरोप शिक्षक नेताहरुले लगाएका छन।

१४ बैशाख २०८२, आईतवार २२:३४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा