पोखरा, गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न जातीय संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूलाई सम्मान गरेको छ। आइतबार प्रतिष्ठानले नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्कीलाई प्रज्ञा संस्कृति पुरस्कारबाट सम्मान गरेको हो। दुबै संस्थाले आ–आफ्नो जातीय भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेकाले प्रत्येक संस्थालाई नगद ५०–५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो।
यसै अवसरमा प्रतिष्ठानले प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा. जगनाथ रेग्मीलाई, प्रज्ञा कला सम्मानबाट वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थलाई, प्रज्ञा संगीत सम्मानबाट संगीतकार तथा नृत्य निर्देशक धनबहादुर गुरुङलाई, प्रज्ञा नारी सम्मानबाट रंगकर्मी प्रमिला तुलाचनलाई, प्रज्ञा युवा सम्मानबाट नाटककार केदार पौडेललाई र प्रज्ञा प्रोत्साहन सम्मानबाट सरला लामिछाने (सरु) लाई सम्मान गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।
पृथ्वीनारायण क्याम्पस हाताभित्रको सामान्य भवनमा सुरुवात गरेको प्रतिष्ठानले हाल आफ्नै सभाहललाई प्रविधिमैत्री बनाउँदै कार्यक्रम आयोजना गर्ने सुबिधा विस्तार गरेको छ। कुलपति सूर्यबहादुर खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठको सक्रियता र योजनाबद्ध कार्यदिशाले प्रतिष्ठानले छोटो समयमै महत्त्वपूर्ण उपस्थिति जनाउन सफल भएको हो।
प्रतिष्ठानले गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जात, जाति, भाषा, धर्म तथा संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनका लागि अनुसन्धान, प्रकाशन तथा कार्यशालाहरू आयोजना गरेको छ। साथै, प्रतिष्ठानले तिर्थ श्रेष्ठ, प्रकाश घिमिरे, प्रजापति पराजुली, प्रा.डा. रविलाल अधिकारी, बुद्धिप्रसाद गुरुङ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल (वात्स्यायन), डा. जगमान गुरुङ, हरिदेवी कोईराला, श्यामसुङ तामाङ, माधव वियोगी र अनुप बरालजस्ता साहित्यिक स्रष्टाहरूको जीवनीसमेत प्रकाशन गरेको छ।
भाषा संरक्षणका लागि मातृभाषा प्रशिक्षण, परम्परागत गीतसंगीत संरक्षणका लागि रेकर्डिङ तथा तालिम, डकुमेन्ट्री निर्माण, ललितकला प्रदर्शनी, साहित्यिक महोत्सव, लोकदोहोरी प्रतियोगिता, अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला, नाटक महोत्सव, फोटो प्रदर्शनी जस्ता कार्यक्रमहरू समेत संचालन गरिएको छ। प्रतिष्ठानले आफ्नो पुस्तकालयमा १ सय स्रष्टाका ८ हजारभन्दा बढी पुस्तकहरूको व्यवस्थापनसमेत गरेको छ।
यद्यपि प्रतिष्ठानले बजेट अभावको समस्या खेपिरहेको छ। सदस्य सचिव श्रेष्ठका अनुसार स्थापना वर्षको तुलनामा पछिल्ला वर्षहरूमा बजेट घट्दै आएको र चालु आर्थिक वर्षको अन्त्यमा थप २५ प्रतिशत बजेट कटौती हुँदा कार्यक्रम सञ्चालनमा थप चुनौती आएको छ। तथापि, अभावबीच पनि प्रतिष्ठानले सकेजति उत्कृष्ट कार्यहरू सम्पन्न गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पर्याप्त बजेट प्राप्त भएमा प्रतिष्ठानलाई देशकै नमूना संस्था बनाउन सकिने विश्वास व्यक्त गरे।