केशब शर्मा / मेरिल्याण्ड (अमेरिका)
नेपाल सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली राजनीतिका सर्वाधिक चर्चित राजनीतिज्ञ एबम नेपालका मूर्धन्य साहित्यकार वी.पी. कोइरालाको देहावसानको करिब त्रिचालिस वर्षपछि उनको जीवनकथामा आधारित प्रथम ऐतिहासिक उपन्यास ‘सान्दाजु’ बजारमा आएको छ।
नेपाली साहित्य उदीयमान स्रष्टा सुभाष घिमिरेद्वारा लिखित ३ सय १५ पृष्ठको उपन्यास ‘सान्दाजु’ प्रकाशित भएपछि नेपालको साहित्यिक बजारमा यसको चर्चा पनि बढेको छ । ‘सान्दाजु’ स्व. वी.पी. कोइरालाको जीवनकथामा आधारित उपन्यास हो ।
वी.पी. कोइरालाका विचारहरू, जीवनसंघर्ष, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण घडीहरूमा उनले प्रदर्शन गरेको साहसलाई उपन्यासमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
सुन्दर स्वदेश पब्लिकेशनबाट प्रकाशित यो पुस्तकको मूल्य रू. ६५०/- छ । पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौं, सम्पूर्ण किताब नारायणगढ, हिमालयन रिडर्स कर्नर पोखरा लगायत देशभरका विभिन्न स्थानहरूबाट बिक्री भइरहेको छ ।
अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) अङ्ग्रेजी उपन्यासका लेखक घिमिरेले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद पनि गरेका छन् । त्यसबाहेक लेखक घिमिरेले अनुबाद गरेका अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन् ।
संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सर्जक घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन्।