Play

शिक्षक आन्दोलनप्रति सरकार थप अनुदार बन्छ- प्रचण्ड, पोखराका सामुदायिक र संस्थागत स्कुलमा पठनपाठन बन्द

गुरुकुल खबर


काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न नसकेको बताएका छन्। उनले शिक्षामन्त्रीको राजीनामापछि सरकार थप अनुदाररुपमा प्रस्तुत हुनेतर्फ अघि बढेको आरोप लगाए।

अध्यक्ष दाहालले सरकारले शिक्षकका मागहरू सम्बोधन गर्न नसकेकाले अब संसद्‌बाटै सम्बोधनका लागि भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिए बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले आन्दोलनरत शिक्षकहरूका मागहरू संसद्‌बाटै सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।

उनले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरे। बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग छलफल भएको थियो। त्यसक्रममा अध्यक्ष दाहालले शिक्षक, चिकित्सक र लघुवित्त पीडितहरूका मागमा सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गइरहेको बताए।

उनले माओवादीले लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा विजय हासिल गर्दै अघि बढिरहेको बताए। ‘अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसद्‌मा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण प्रधानमन्त्रीले दुबै सदनमा उपस्थित भएर जवाफ दिन बाध्य बनाउन सफल भइयो,’ उनले भने, ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो।’

यसैबीच  शिक्षक आन्दोलनका कारण पोखरा महानगरपालिकाले सामुदायिक र संस्थागत दुवै विद्यालयको पठनपाठन स्थगित गरेको छ । सोमबारदेखि पठनपाठन सुरू गर्ने शैक्षिक क्यालेण्डर रहेकोमा वैशाख ११ बाट सुरू गर्न महानगरपालिकाले आइतबार सबै विद्यालयलाई सूचनामार्फत अनुरोध गरेको छ ।

‘विद्यालयहरुको भर्नालगायत अन्य पूर्वाधारको व्यवस्थापन गर्न समय अभावका कारण २०८२ वैशाख ११ ग्ते बिहीबारबाट नियमित पठनपाठन सूचारु गर्नु–गराउनुहुन सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कुनै विद्यालयमा पढाइ हुने, कुनैमा शिक्षक नहुँदा विद्यार्थीलाई असर पर्ने सम्भावना देखेर पठनपाठन वैशाख ११ सम्म स्थगित गरिएको बताए । संस्थागत र सामुदायिक विद्यालयमा एकैपटक पढाइ सुरू गर्ने उद्देश्य आफूहरुको रहेको उनले बताए ।

‘संस्थागत विद्यालयमा भर्ना भएर पढाइ सुरू हुने तर सामुदायिक विद्यालयमा भर्ना र पढाइ प्रभावित भएपछि बच्चालाई मानसिक असर पर्छ कि भनेर एकैदिन चलाउने भनिएको हो,’ उनले भने, ‘शिक्षक नहुँदा पढाइ हुने भएन । २/३ ढिला गर्दा केही हुन्छ कि भनेर सूचना गरेका हौं ।’

पोखराका अधिकांश संस्थागत विद्यालयले भर्ना अभियान सकिसकेका छन् । सामुदायिक विद्यालयले भर्ना लिइरहेकोमा शिक्षक नहुँदा प्रभावित हुने भएपछि पठनपाठन स्थगित गरिएको हो ।

पोखरामा १ सय ९८ सामुदायिक र १ सय ७५ संस्थागत विद्यालय छन् । शैक्षिक प्रशासन महाशाखाको ०८१ को तथ्यांकअनुसार ती विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।

११ बैशाख २०८२, बिहीबार १२:५६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा