पोखरा, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एबम नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरेका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुंगले गणतन्त्र विरुद्ध हाल भैरहेका गतिविधि संविधान विपरीत रहेकोमा समेत जोड दिए ।
‘अहिलेको हाम्रो गणतान्त्रिक ब्यबस्थामा प्रत्येक ५ वर्षमा चुनाव हुन्छ । मन नपरेका नेताहरुलाई चुनावबाट हटाउन सकिन्छ । तर, राजतन्त्र फर्किए त्यस्तो विकल्प हुँदैन, उनले पैदल यात्रा, साइकल, मोटर साइकल र गाडी पछि पाँच सय किलोमिटर प्रतिघण्टा चल्ने रेलको युगमा जनता आएकोले अब राजतन्त्रको युग फर्किने सम्भावना नरहेको बताएका हुन ।
काठमाडौँमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्दा ३५ हजारको सहभागिता रहेको तर राजाबादीले गरेको आन्दोलनमा पांचहजार मान्छे आएको बताउंदै समाजवादी मोर्चाले गरेको प्रदर्शनले पनि जनता गणतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको उल्लेख गरे । “राजावादीहरुले पनि सोही दिन जुलुस निकाल्दा कति मान्छे आए, थाहा त पाइहाल्नु भयो । तर, पनि सरकारले कसैलाई रोकेन, यो गणतन्त्र हो। यद्यपि लहर पनि गणतन्त्रवादीकै देखियो नि”उनले भने ।
राजावादी प्रदर्शनमा हिंसात्मक गतिविधि हुन पुगेको भन्दै मन्त्री गुरुंगले पार्टी कार्यालय, कान्तिपुर टिभी र अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आक्रमण र तोडफोड हुनु संविधान विपरीत भएको र सरकारले यस्तो गतिविधि सहन नसक्ने समेत स्पष्ट पारे।
मन्त्री गुरुङले राजतन्त्र आफ्नै कारणले समाप्त भएको पनि सुनाए । ‘राजाले आफ्नै दरबार जोगाउन सकेन, परिवार जोगाउन सकेन, उसले तीन करोड नेपालीलाई कसरी जोगाउन सक्छ ?,’ उनले प्रश्न गरे। ‘नेपालमा बहुदलीय व्यवस्था ल्याउने बेलामा राजासँग सम्झौता गरिएको थियो। ०४७ सालमा राजा संवैधानिक भूमिकामा सीमित हुने सहमति गरिएको थियो । तर, २०५९ सालमा संविधान विरोधी कदम चाल्दै अधिकार खोसियो, जसका कारण जनताले राजतन्त्र फाल्न बाध्य भए ।
यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले अरु व्यवसायीका लागि ऐन कानुन र कार्यविधि भए जस्तो सुनचाँदी व्यवसायीका लागि पनि ऐन कानुन बनाएर सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न सरकारसँग माग गरेको छ । अरु व्यवसायीका लागि कानुन, ऐन, कार्यविधि भए पनि सुनचाँदी व्यवसायीका लागि ऐन, नियम नभएको महासंघका अध्यक्ष अर्जुन रसाइलीको भनाई रहेको छ । साधारण सभा हुनुपुर्ब पोखराका संचारकर्मीहरुसंगको भेटघाटका क्रममा अध्यक्ष रसाइलीले उक्त कुरामा जोड दिएका थिए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ महासंघको शनिबार पोखरामा आयोजित १२ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्ने क्रममा पनि उनले विना कार्यविधि तथा निर्देशिका काम गर्दा व्यवसायीहरुले बारम्बार समस्या भोग्नु परेको बताए । उनले जुनसुकै पेशा, व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर सुनचाँदी व्यवसायको क्षेत्रमा कार्यविधि नभएकाले व्यवसायीले बारम्बार अनावश्यक झमेला व्यहोर्नु परेको गुनासो गर्दै निर्वाध रुपमा पेशा व्यवसाय गर्नका लागि निर्देशिका आवश्यक भएको बताए ।
उनले निर्देशिका बनेपछि सुनचाँदीको बजार व्यवस्थित हुने दाबी गरे । उनले बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था सुनिश्चित गर्नसमेत आग्रह गरे । दैनिक २० किलोमात्र कोटा प्रणालीमा निर्भर रही पेशा, व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउंदै अध्यक्ष रसाइलीले बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था सुनिश्चित नहुँदा व्यवसायीले धेरै समस्या बेहोर्नु परेको दुखेसो गरे ।
अध्यक्ष रसाइलीले पर्याप्त मात्रामा सुन आपूर्ति व्यवस्था सुनिश्चित गर्न, सदस्य संख्या र पान नम्बरको आधारमा सुनको वितरण गर्ने वातावरण मिलाउन पनि सरकारसंग आग्रह गरेका छन् । उनले बजारको माग अनुसार दैनिक ४० किलो सुन आपूर्ति गर्नुपर्ने जनाए । कर तिरेको आधारमा सुन दिन आग्रह गर्दै उनले बैंकको बिल लिएर सुनको ओसारपसार गर्दा समस्या भन्दै पोखराका व्यवसायीले पोखरामै सुन किन्न पाउनुपर्ने ब्यबस्था हुनुपर्नेमा जोड दिए ।
उनले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ तत्काल परिमार्जन गरी समसामयिक र व्यवहारिक बनाउन नेपाल राष्ट्र बैंकलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गरे । २०६८ सालमा जारी भएको कार्यविधि अव्यवहारिक भएको र कार्यविधिले आम सुनचाँदी व्यवसायीको समस्या सम्बोधन नसकेकाले परिमार्जन आवश्यक भएको उनले उल्लेख गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले महासंघले निर्धारण गरेको सुनचाँदीको दरभाउलाई नेपाल राष्ट्र बैंकले मान्यता दिने जानकारी दिए । युद्वका बेलामा व्यवसायीले सुरक्षित कारोबार गर्न चाहने उल्लेख गर्दै उनले युद्धको बेलामा नै सुनको भाऊ बढ्ने बताए ।
महासंघका सचिव निर्मल दियाली सुनारले सुनचाँदी क्षेत्रमा आबद्ध व्यवसायीको हक, अधिकारको सुनिश्चितता तथा सुनचाँदीका गरगहनाको खरिद, बिक्री एवं कारोबारमा देखा परेका समस्यालाई महासंघले समाधान गर्ने जनाए । उनले ‘एकता, दक्षता, व्यवसायिक सहजता र पारदर्शिता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने नाराका साथ हुने साधारण सभामा ८० जिल्ला तथा नगर, १ वस्तुगत संघ र २२ एसोसियट सदस्यसहित ७ सय प्रतिनिधिले भाग लिने बताए । सचिब दियालीले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण बर्षको रुपमा घोषणा गरेकोले पोखरामा नै साधारण सभा आयोजना गरेर देश भरका सुनचाँदी ब्यबसायीलाई आमन्त्रण गरिएको स्पष्ट पारे ।
महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्माले विद्यमान विधानको तेस्रो संशोधन गर्ने एजेन्डा साधारण सभामा पेश गर्ने उल्लेख गरे । वार्षिक साधारण सभाले सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिस्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने लगायतका एजेन्डालाई समेटेर पोखरा घोषणापत्र जारी गर्ने भएको छ ।