पोखरा, पोखरामा हुने भनिएको गण्डकी कोटीहोम महायज्ञ रोक्न पोखरा महानगरपालिकाले बल प्रयोग गरेको बिरोधमा महायज्ञका आयोजक र समर्थकहरुको एक समुहले आइतबार पोखरा महानगरपालिका कार्यालयको गेटमा करिब डेढ घण्टा सांकेतिक बिरोध स्वरुप धर्ना दिएको छ। ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध गर्दै पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको धर्नामा सहभागी मध्येका एक युबक लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए ।
विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, संस्कृत युवा मञ्च कास्की, मातृशक्ति विभाग गण्डकी प्रदेश लगायतका विभिन्न संस्थाले प्रतिनिधिमुलक रुपमा संयुक्त धर्ना दिएका हुन । विहान ९ बजे देखि सुरु भएको धर्ना कार्यक्रम १०ः३० सम्म चलेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सर्बपक्षिय बार्ताबाट समस्याको समाधान खोज्ने भनि सोमबारको लागि बैठक बोलाएपछि आइतबारको धर्ना कार्यक्रम स्थगित गरिएको उनिहरुको भनाई छ।
सोमबारको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की र कोटिहोमको आयोजक मानव सेवा फाउण्डेसन नेपालको बिचमा संयुक्त बैठक बोलाएको छ । बैठकले कोटिहोम महायज्ञको लागि मार्ग प्रसस्त गर्न नसकेकोमा मंगलबारदेखि थप आन्दोलनका कार्यक्रम संचालन गरिने अन्तराष्ट्रिय हिन्दु परिषदका केन्द्रिय अध्यक्ष शंखर खरालले गुरुकुल खबरलाई जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्ने अडानमा आयोजकहरु
पोखरामा विश्व हिन्दु महासंघले गर्ने भनिएको कोटीहोम महायज्ञलाई पोखरा महानगरपालिकाले हुन नदिन विभिन्न प्रयास गरेको भएपनि महायज्ञ आयोजकले कोटीहोम महायज्ञ सम्पन्न गर्ने अडान कायम राखेका छन । विश्व हिन्दु महासंघ, नेपाल गण्डकी प्रदेश र संस्कृत युवा मञ्च नेपालले संयुक्त रुपमा पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कोटीहोम महायज्ञ गर्नका लागि अदालतले बाटो खुला गरिदिएकाले आफुहरु महायज्ञ सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कोटीहोम गर्नका लागि शुक्रबार भूमि पुजनको समयमा पोखरा महानगरपालिकाका केहि जनप्रतिनिधि र नगर प्रहरीले एक्कासी महायज्ञ रोक्ने नाममा महायज्ञका आयोजकहरुलाई आक्रमण गरेपछि द्वन्द बढेको उनीहरुको भनाई छ पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघ, नेपालका उपाध्यक्ष शंकर खरालले सनातन धर्म जोगाउने कोटीहोम बिथोल्नका लागि षड्यन्त्र भइरहेको बताए । मानव सेवा फाउण्डेससँग यहाँ उठेको रकम पोखरा र आसपासमै खर्च गर्ने सहमतिपछि आफूहरुले साथ दिएको बताउँदै गुरुको आचरणको पछि नलागी उद्देश्यको पछि लाग्न उनको आग्रह थियो । पोखराले घोषणा गरेको पोखरा भ्रमण वर्षलाई सघाउनका लागि आयोजना गरिएको कोटीहोमका विरुद्धमा केही तत्व लागिरहेको खरालले सुनाए ।
पोखरा महानगरले दोहोरो चरित्र प्रस्तुत गरिरहेको खरालले सुनाए । उनका अनुसार महानगरपालिका वडा न. ६ बाट महायज्ञ संचालन गर्नको लागि आबश्यक अनुमति लिएर बहाल कर समेत महानगरले लिईसकेको अबस्थमा कोहि कसैको उक्साहटमा लागेर महायज्ञ रोक्ने प्रयास भैरहेको उनले बताए पोखरा महानगरपालिकाले गण्डकी कोटीहोमको लागि आबश्यक पर्ने समिधाको लागि प्रयोग गर्ने ३२ गाडी दाउरा समेत उपलब्ध गराएकोमा केहि दिनको अन्तरालमा नै आफैले उपलब्ध गराएका दाउरा सहित महायज्ञ आयोजकले संकलन गरेका समेत गरि ५० गाडी दाउरा जबर्जस्ति फिर्ता लागेको थियो
पोखरा महानगरपालिकाले महायज्ञ रोक्ने प्रयासलाई निरन्तरता दिंदै आएको भएपनि यस अगाडी महानगरको वडा न. ६ कार्यालय सहित कास्की जिल्ला प्रशासन कार्यालय, गण्डकी प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र नेपाल ट्रष्ट लगायतका निकायबाट विभिन्न किसिमको अनुमति र सिफारिस महायज्ञ आयोजकले लिईसकेको कारण त्यसैलाई आधार बनाएर उच्च अदालत पोखराले पनि कानुनले प्रतिबन्ध लगाएको काम बाहेक महायज्ञलाई नरोक्नु भनि आदेश दिईसकेको छ
पोखरा महानगरका प्रमुखको निर्देशनमा भएको अभद्र ब्यबहार खेदजनक
यसैबीच महायज्ञ आयोजक मानब सेवा फाउन्डेसनले एक बिज्ञप्ति जारी गर्दै उच्च अदालत पोखराले दिएको आदेशको उल्लङ्घन गर्दै श्रीगण्डकी कोटिहोम भूमि पूजनमा उपस्थित हजारौं सनातनी धर्मावलम्बीहरुमाथी पोखरा महानगरका प्रहरीले गरेको अभ्रद व्यवहार र लाठीचार्जको घटना प्रति खेद प्रकट गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार फागुन २३ गते बिहान १०:२१ बजे भूमि पूजनको लागि शुभ साइत निर्धारण गरि सोहीअनुसार मानव सेवा फाउण्डेसन, नेपालले निर्धारित मितिमा शान्तिपूर्ण रूपमा भूमि पूजन कार्यक्रम सञ्चालन गरिरहेको समयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निर्देशनमा खटिएका नगर प्रहरीहरूले लाठी, हेलमेट र बुटसहित पूजन स्थलमा हस्तक्षेप गरि धार्मिक सामग्रीहरू उठाउने, अपशब्द प्रयोग गर्ने, महिलाहरूको गरगहना लुट्ने तथा जबरजस्ती पूजन स्थलबाट कुर्सी र अन्य सामग्री कब्जा गरेर लगेको फाउन्डेसनले जनाएको छ ।
नेपाल प्रहरीको आगमन पश्चात मात्रै नगर प्रहरी केही पछि हट्न बाध्य भएको र सोहि कारणले भूमि पूजन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै बिज्ञप्तिमा भुमि पूजन पश्चात् महानगर प्रहरी, मेयरको निर्देशनमा वडा नं. २६ का वडाअध्यक्ष नरेन्द्र थापा, वडा सदस्य सहित बाहिरबाट बोलाएका व्यक्तिहरूले मास्क लगाई स्थानीय श्रद्धालु भक्तजन र फाउण्डेसनका कर्मचारीहरूमाथि लाठी तथा हेलमेट प्रहार गर्नुका साथै गाडी तोडफोड गर्ने, उपस्थित स्थानीय भक्तजनहरु कुटपिट गर्ने, महिलाहरूलाई लात्ताले हान्ने, कपाल तान्ने, सिक्री लुट्ने र अनेक दुर्व्यवहार गर्ने जस्ता अराजक गतिविधिहरूगरेको दाबि बिज्ञप्तिमा गरिएको छ।
धार्मिक कार्य सञ्चालन भइरहेका बेला नगर प्रहरीले प्रदर्शन गरेको यो आक्रामक एवं अवाञ्छित व्यवहार गम्भीर रूपमा निन्दनीय रहेको र भक्तजनहरू पूजापाठमा संलग्न रहँदा महानगर प्रशासनबाट हस्तक्षेप गर्दै पुण्य कार्य गर्ने स्थानलाई रणमैदानमा परिवर्तन गर्ने नियोजित प्रयास हो भन्दै बिज्ञप्तिमा धार्मिक तथा सामाजिक कार्यमा स्वयं महानगर प्रमुखको निर्देशनमा भएको यस किसिमको हस्तक्षेप दण्डनीय रहेको जनाइएको छ
बिज्ञप्तिमा भनिएको छ, “सेवा फाउण्डेसन नेपालले सात प्रदेशमा कोटिहोम महायज्ञ सम्पन्न गर्ने संकल्पअनुसार कास्की जिल्लाका विभिन्न धार्मिक संघसंस्था तथा समाजसेवी व्यक्तित्वहरूको आमन्त्रणमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ आयोजना गर्ने र महायज्ञको प्रचारप्रसार तथा तयारी स्वरूप चैत्र १७ गतेदेखि प्रचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । जसका लागि सम्बन्धित निकाय तथा संघसंस्थाबाट अनुमति प्राप्त भइसकेको, महायज्ञका लागि आवश्यक तयारीस्वरूप पोखरा महानगरपालिकाले समिदा (दाउरा) प्रदान गरिसकेको थियो। तर, विभिन्न वार्ड तथा निकायमा पत्राचार गर्दै पोखरा महानगरपालिकाले कोटिहोमलाई अवरोध सिर्जना गर्ने प्रयास भएको कारण न्याय प्राप्तिका लागि कानुनी मार्ग अवलम्बन गरिएको थियो । तत्पश्चात फागुन १ गते सम्मानित उच्च अदालत पोखराले कोटिहोम रोक्न नहुने सम्बन्धी आदेश जारी गरेको थियो । महानगरको पक्षबाट सो आदेश विरुद्ध भ्याकेट निवेदन दर्ता गरिएपछि पनि सम्मानित उच्च अदालतले पूर्वनिर्णयलाई निरन्तरता दिँदै कोटिहोम रोक्न नहुने आदेश दोहोर्याएको थियो ।
प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने धार्मिक स्वतन्त्रताको हक नेपालको संविधानले सुरक्षित गरेको छ । धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्न भनी पोखरामा आयोजना हुन लागिएको ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ आयोजना नरोक्नु /नरोकाउनु भनि सम्मानित उच्च अदालत पोखराले दिएको आदेशको उल्लङ्घन गर्दै श्रीगण्डकी कोटिहोम भूमि पूजनमा उपस्थित हजारौं सनातनी धर्मावलम्बीहरुमाथी पोखरा महानगर प्रहरीले गरेको अभ्रद व्यवहार र लाठीचार्ज प्रति श्री मानव सेवा फाउण्डेसन, नेपाल खेद प्रकट गर्दछ ।”
फागुन २३ गते भुमिपुजनको क्रममा भएको घट्नालाई निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदै सम्मको कारवाहीको माग गर्दै बिज्ञप्तिमा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट्ज्ञान महायज्ञ कुनै पनि हालतमा कतैबाट पनि रोक्न नदिईने पूर्वनिर्धारित मिति, स्थान र समयमा महायज्ञ सम्पन्न गरिने दृढता आयोजकले ब्यक्त गरेको छन ।
यथास्थितिमा महायज्ञ हुन सक्दैन – पोखरा महानगरपालिका
यसैबीच पोखरा महानगरपालिकाको तर्फबाट प्रबक्ता मोतिराज तिमिल्सिनाले बिज्ञप्ती जारी गर्दै जनप्रतिनिधिहरू माथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्तिहरू दिएर सुरुवातबाटै धार्मिक सहिष्णुतालाई भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्था प्रति घृणा फैलाउने, सदिऔँदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसाय साथ गरिएका हर्कतहरु कानुनतः दण्डनीय रहेको उल्लेख गरेका छन ।
‘विवादास्पद छविका विजय भण्डारीको उक्साहटमा परिचालित समूहको आक्रमणमा परी ११ जना महानगर प्रहरीहरू र केही अन्य व्यक्तिहरू समेत घाइते भएका छन् । टाउको, अनुहार र शरीरका विभिन्न भागहरूमा गम्भीर चोट लागेका नगरप्रहरीहरुको मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । महानगरपालिका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नियोजित रूपमा घटना घटाउन उद्धत व्यक्तिहरूको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्दछ ।’
बिज्ञप्तिमा पोखरा क्षेत्रका ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न मानव सेवा फाउन्डेसनले अनुमति विना वैशाखबाट गर्ने भनीएको कोटिहोम यथास्थितिमा हुन नसक्ने कुरा महानगरपालिका पुनः स्पष्ट पार्दछ ।
महानगरको आदेश पालना गर्नेमाथि भएको कुटपिट रोक्नु आफ्नो कर्तब्य – वडाध्यक्ष थापा
यसैबीच महायज्ञ आयोजकले पोखरा महानगरपालिका -२६ का वडाध्यक्ष नरेन्द्र थापासहितको टोलीले आक्रमण गरेको भनि लगाएको आरोपको प्रतिबाद गर्दै थापाले वास्तविकता नवुझी उक्त घट्नामा आफ्नो नाम र पद जोडिएको भन्दै त्यसलाई आधारहिन भनेका छन । थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै भक्तजनहरुको सहभागितामा पवित्र मानिएको कोटीहोम जस्तो धार्मिक कार्यको शुरुवात गर्ने स्थानमा रड, लाठी, खुकुरी र खुँडा सहितका हतियारधारी राखेर भूमिपूजन गर्नुले आयोजकले भिडन्तको पूर्वसंकेत दिएको उल्लेख गर्दै महानगरको आदेश पालन गर्ने क्रममा खटिएका नगरप्रहरी माथि आयोजकले भाडामा राखेका हतियारधारी समूहले निर्घात कुटपिट गरेपछि एक जनप्रतिनिधि हुनुको नाताले महानगरको कार्यपालिकाको निर्णय कार्यान्वयन र आफ्ना कर्मचारीको सुरक्षा एवं धर्मको नाउँमा भएको अपराध रोक्नु आफ्नो कर्तब्य भएको उल्लेख गरेका छन ।
‘हामी हिन्दु धर्मका अनुयायीहरु अधर्म र धार्मिक अपराध एवं ठगीमा विश्वास गर्दैनौ । मेरो वडामा धर्म, कला संस्कृतीको संरक्षणका लागि रकम विनियोजन गरेर जिर्णोदार, मर्मत संभार र पुर्ननिर्माण जस्ता कार्यलाई अगाडी बढाउनुको साथै पाटीपौवा, चौतारा, ताल तलैया र पोखरीको संरक्षण आज पनि हाम्रो प्राथमिकतामा छन् । हामी हाम्रो हिन्दु धर्म रक्षा र संरक्षणका लागि अन्तिम श्वास रहेसम्म लड्न तयार छौं, तर हतियारधारी जत्था तयार गरी अपराधिक शैलीमा गरिने यस्ता अराजकता र हिन्दु धर्मलाई बद्नाम गराउने कार्य सहन, टुलुटुलु हेर्न र हुन दिनेछैनौ ।’ वडाध्यक्ष थापाले उल्लेख गरेका छन