Play

पोखरामा हुने श्रीगण्डकी कोटीहोम महायज्ञ : पोखरा महानगरलाई अर्को झड्का, महायज्ञ आयोजक उत्साहित

गुरुकुल खबर


पोखरा, पोखराको फेवाताल किनारमा आगामी बैशाखबाट हुने भनिएको कोटीहोम महायज्ञलाई जुनसुकै हालतमा पनि रोक्ने प्रयासमा लागेको पोखरा महानगरपालिकाले एक पछि अर्को झड्का व्यहोर्नु परेको छ। महायज्ञको चर्चा चलेसंगै पोखरामा महायज्ञ हुन नदिने भन्दै निरन्तर सक्रिय रहेका मेयर आचार्यले उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशको समेत खारेजीको माग गर्दै भ्याकेट निबेदन दिएकोमा अदालतले अन्तरिम आदेशलाई खारेज गर्नुनपर्ने भन्दै पुरानो आदेशलाई नै निरन्तरता दिएपछि पोखरा महानगरपालिका र मेयर आचार्यलाई अर्को झड्का लागेको हो।

पोखराको लेकसाइडमा हुने भनिएको महायज्ञलाई रोक्न यस अगाडी नै पोखरा महानगरले विभिन्न निकायमा पत्राचार गर्ने, अदालतमा मुद्दा दायर गर्ने, समिधाको लागि महानगर आफैले उपलब्ध गराएका सहित अन्य दाउराहरु जफत गर्ने र बिना अनुमति महायज्ञ आयोजना गर्न लागिएको भन्दै निरन्तर रोक्ने प्रयास गर्दै आएको थियो।

आगामी बैशाख १७ देखि जेठ २६ सम्म हुने भनिएको उक्त कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा पत्राचार गरेपश्चात महायज्ञ आयोजक मानव सेवा फाउण्डेसन नेपालले उच्च अदालत पोखरामा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएकोमा यहि फागुन १ गतेका दिन उच्च अदालत पोखराले कोटिहोम नरोक्नु/नरोकाउनु भनी अन्तरिम आदेश जारी गरेको थियो।

उत्प्रेषण परमादेश रिट निवेदनमाथि उच्च अदालत पोखराले महायज्ञ सञ्चालनमा कानुन बमोजिम बाहेक कुनै बाधा अवरोध नगर्न पोखरा महानगरपालिकालाई आदेश दिएको भएपनि महानगर भने निरन्तर महायज्ञ रोक्ने अभियानमा लागिरहेको छ। यस बिचमा पोखरा भ्रमण बर्ष-२०२५ को घोषणासभामा बेलुन पड्किएर दुर्घटना हुँदा मेयर आचार्य समेत गम्भीर घाइते भई काठमाडौँमा उपचार गरि पोखरा फर्केको छन।

कतिपयले उक्त दूर्घटना हुनुको पछाडी महायज्ञ रोक्ने मेयरको प्रयास नै कारक रहेको भनेर पनि चर्चा गरे मेयर आचार्य उपचारको लागि काठमाडौँ पुगेको भएपनि उनले महानगरको तर्फबाट फेरी अदालतमा महायज्ञ रोक्न र महायज्ञलाई कुनै अबरोध नगर्न भनि अदालतले यस अगाडी दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै अर्को निबेदन दिन लगाए।

महानगरको कर्मचारी सोम लम्साललाई वारेशी दिएर कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी मेयर आचार्यले  पहिलेको अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएको थिए। तर सोमबार अर्थात फागुन १९ गते अदालतले पहिलेको अन्तरिम आदेश खारेज गर्नु नपर्ने निर्णय दिएको छ उच्च अदालतका न्यायाधिश दिपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नुनपर्ने निर्णय गरेको हो।

अदालतको आदेशमा भनिएको छ, “महायज्ञको सन्दर्भमा यसै अदालतमा विचाराधीन रहेको निबेदन उपर फागुन ६ गतेका दिन आदेश हुँदा प्रस्तुत रिट निबेदन समेत साथै राख्नु र अग्राधिकार दिनु भनि आदेश भएको देखिएको अबस्थामा बिबाद भएको स्थान र बिषयको सम्बन्धमा पूर्ण सुनुवाई भई अन्तिम निरुपण हुँदाका बखत बिबेचना हुने प्रकृतिको देखिंदा हाललाई यस अदालतबाट  यहि फागुन १ गते जारी भएको अन्तरिम आदेशलाई अन्यथा गरिरहनु परेन, प्रस्तुत रिट निबेदनलाई समेत अग्राधिकार दिई छिटो पेशी तोकी नियमानुसार पेश गर्नु।”

पोखरा महानगरपालिका निवेदक रहेको उक्त मुद्दामा निवेदकको तर्फबाट अधिबक्ता शुकदेव गौतमले बहस गरेका थिए भने बिपक्षी मानब सेवा फाउन्डेसनको तर्फबाट बरिष्ठ अधिबक्ता कृष्णबहादुर थापा र राजु बस्नेत एबम अधिबक्ताहरु बीरेन्द्र केसी, दुर्गाप्रसाद कोइराला, दिपक शर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए।

अदालतले गरेको यों आदेश पोखरा महानगरपालिकाको माग अनुरुप नआएपछि महानगरपालिकालाई एक पछि अर्को झड्का लागेको अनुभूति धेरैले गरेका छन भने महायज्ञ आयोजकहरु महानगरले सिर्जना गरेका विभिन्न अबरोधहरु एक पछि अर्को गर्दै छिचोलिंदै गएको भन्दै उत्साहित देखिएका छन।

नेपाल ट्रष्टको स्वमित्वमा रहेको लेकसाइड बाराहीचोकको जग्गा र पोखरा महानगरको स्वामित्वमा रहेको क्यम्पिंग चोकको जग्गासहित अरु जग्गामा महायज्ञ गर्ने भनि नेपाल ट्रष्ट र पोखरा महानगरपालिका वडा -६ कार्यालयसहित विभिन्न निकायको सिफारिस मानब सेवा फाउन्डेसनले पहिले नै लिएको थियो। त्यसपछि महायज्ञ स्थलको जग्गाको भाडा बापतको रकम र पोखरा महानगरलाई कर समेत बुझाइसकेपछि मात्र नगर प्रमुख आचार्यले पोखरामा महायज्ञ गर्न नदिने भन्दै महायज्ञ आयोजकले संकलन गरेका दाउरा समेत जफत गर्न लगाएका थिए मेयर आचार्यको आदेश र कार्यपालिकाको निर्णय पछि महानगर आफैले महायज्ञ आयोजकलाई समिधाको रुपमा प्रयोग प्रयोग गर्न भनि उपलब्ध गराएको ३२ गाडी दाउरा महानगरले जफत गरेर फिर्ता लागेको थियो।

यस अगाडी पनि पोखराकै अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले यहि फागुन २ गते लेकसाइडमा हुने भनिएको महायज्ञ रोक्न माग गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले मंगलबार कारण देखाऊ आदेश जारी गरेको थियो ।

कोटीहोम महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा महायज्ञ रोक्न माग गर्दै अन्तरिम आदेश माग गरोएको भएपनि अदालतले कारण देखाउ आदेश जारी गरेपछी महायज्ञ आयोजक उत्साहित बनेका थिए । र, महायज्ञको आन्तरिक तयारीलाई तिब्रता दिएका थिए । उनीहरुले दायर गरेको रिटमा महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन, पोखरा महानगरपालिका, पोखरा महानगरको वडा न. ६, १३, र १४ को कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल ट्रष्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसहित १० जनालाई विपक्षी बनाइएको थियो ।

यसअघि वातावरण संरक्षणका अभियन्ताहरूले पनि सो स्थानमा महायज्ञ सञ्चालन गर्दा सर्वाेच्च अदालतको फेवाताल संरक्षणसम्बन्धी आदेशको उल्लंघन हुने, रामसार क्षेत्रको पारिस्थितिक सन्तुलनमा असर पर्ने, र वातावरणीय प्रदूषण निम्त्याउने भन्दै अर्काे रिट निवेदन दायर गरेका थिए । अदालतले एउटै विषयमा विरोधाभाषी आदेश आउन नदिन न्यायिक आत्मसंयम र विश्वसनीयता कायम राख्नुपर्ने भन्दै प्रमाण प्रयोजनका लागि पेस भएको यसअघिको रिट निवेदनमा जारी अन्तरिम आदेश कानुनी आधारमा पुनरावलोकन हुनसक्ने जनाएको छ । तर, मुद्दाको संवेदनशीलता, सर्वाेच्च अदालतको आदेश, फेवाताल संरक्षण, रामसार क्षेत्र, पर्यावरणीय प्रभाव तथा पर्यटन क्षेत्रसँग अन्तरसम्बन्धित विषयहरूलाई मध्यनजर गर्दै अदालतले दुवै रिटलाई एकसाथ राखेर छिटो निरुपण गर्ने भनेको छ ।

अदालतले पछिल्लो निवेदनका विपक्षीहरू पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय पोखरा, नेपाल ट्रस्टको कार्यालय कमलादी काठमाडौं, जिल्ला प्रशासन कार्यालय कास्की, डिभिजन वन कार्यालय कास्की लगायतलाई म्याद जारी गर्दै आदेशको प्रतिलिपिसहित लिखित जवाफ दिन १५ दिनको समयसीमा तोकेको थियो ।

महायज्ञको भुमि पुजन बैशाख ३ गते गरिने र सोहि दिन यज्ञ कुण्ड खन्ने काम शुरु हुनेछ यसैगरी कोटीहोम महायज्ञको पुर्वांग बैशाख १७ गते र महायज्ञ अन्तर्गतको हवन गर्ने कामको प्रारम्भ बैशाख १९ गते हुने कार्यतालिका रहेको छ। महायज्ञको आयोजक मानव सेवा फाउन्डेसनका बिष्णु थापाले गुरुकुल खबरलाई जानकारी दिए।

कोटीहोम महायज्ञ अन्तर्गत बाराही चोक नजिकको नेपाल ट्रष्टको जग्गामा एक सयवटा हवन कुण्ड निर्माण गरिने र त्यहाँ तिन सय जना ब्राह्मण पण्डितले गायत्री मन्त्र उच्चारण गर्दै सवा करोड हवन गर्ने छन। क्याम्पिंग चोक नजिकको जग्गामा विभिन्न कथा बाचन हुने र अर्को खालि जग्गामा भजन प्रतियोगिता लगायतका कार्यक्रम गरिने बताइएको छ। भजन प्रतियोगितामा करिब पांच सय समूह सहभागी बन्ने बिश्वास आयोजकहरुको रहेको छ ।

जसअनुसार भागवत कथा प्रबक्ता सुश्री अनुराधा पाण्डेय, श्रीराम कथा प्रबक्ता देबीचन्द्रकला शखी, देबी प्रतिभा, भागवत मन्जरी राधिका दासी, बाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल, भागवत भाष्कर पण्डित कमलनयन गौतम, विख्यात प्रवचनकर्ता चैतन्य श्रीकृष्ण महाराजले कथा बाचन गर्ने तय भैसकेको छ । यसैगरी नेपाल र भारतका विख्यात धर्मगुरुहरु  महायज्ञमा सहभागी भएर आशिर्बचन प्रदान गर्ने कार्यक्रम रहेको छ।

पोखराको कोटीहोम महायज्ञ रोक्ने मागमा अदालतले दिएन ‘अन्तरिम आदेश’, महायज्ञको ७५ प्रतिशत तयारी पुरा

उच्च अदालत पोखराले भन्यो ‘कानुनी रुपमा बाधा पुग्नेबाहेक लेकसाइडमा हुने महायज्ञलाई कुनै अबरोध नगर्नु’

पोखरामा हुने कोटीहोमप्रति स्थानीय सकारात्मक बन्दै: आम्दानी खर्च पारदर्शी गर्न र सरसफाइमा ध्यान दिन आग्रह

पोखरामा कोटीहोमको तयारीमा जुटे आयोजकहरु, धार्मिक द्वन्द बढ्नसक्ने खतरा

१९ फाल्गुन २०८१, सोमबार २२:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा