पोखरा, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानीको रुपमा नेपाल सरकारले औपचारिक निर्णय र घोषणा नगरेको बताएका छन । पोखरामा भएको लिटरेचर फेस्टिभलमा बोल्दै उनले हल्लैहल्लाले पोखरालाई पर्यटनको राजधानी भन्न थालिएको प्रतिक्रिया दिएका हुन् ।
गत बर्ष चैत्र ३ गते पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पोखरामा एक भब्य समारोहको आयोजना गरि पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । पोखरा महानगरका मेयर धनराज आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समेतको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका थिए।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नु अगाडी गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विभिन्न चरणका छलफल र बैठक गर्नुको साथै घोषणा समारोहमा समेत तामझाम सहित लाखौं रुपैया खर्च गरेको चर्चा चलेको थियो। स्थानीय र प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणा गर्ने औपचारिक कार्यक्रम गर्नुबाहेक पर्यटकीय राजधानीको रुपमा थप विकास गर्नको लागि आबश्यक पुर्बाधार र संरचना एबम थप नीति तयार गर्न भने कुनै चासो नदेखाएको आरोप ब्यबसायिक क्षेत्रसंगै आमसर्बसाधारणले समेत लगाउन थालेका छन ।
यस्तै चर्चाको बिचमा नेपाल सरकारका संचार तथा सूचना प्रबिधि मन्त्री गुरुंगले नेपाल सरकारले पोखरालाई पर्यटकीय राजधानीको रुपमा कुनै निर्णय नगरेको र हल्लैहल्लाको आधारमा पर्यटकीय राजधानी भन्न थालिएको भन्ने अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। मन्त्री गुरुंगको यो भनाईलाई हेर्दा कि त प्रदेश सरकार र स्थानीय सरकारको निर्णयलाई संघिय सरकारले मान्यता दिन नचाहेको कि त स्थानीय र प्रदेश सरकारले आफुखुसी निर्णय गर्ने र संघिय सरकारसंग समन्वय गर्न नसकेको भनेर बुझ्न थालिएको छ ।
संचारमन्त्री गुरुंगको यो अभिव्यक्तिसंगै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले तामझामको साथ लाखौ रुपैया खर्च गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको बिषयमाथि गम्भीर प्रश्न उब्जिएको छ। सम्भवत पोखराको पर्यटकीय बिकासको लागि पर्यटकीय राजधानी घोषणापछि पर्यटन बिकासको लागी केहि बजेट बढ्ने र केहि पर्यटन मैत्री नीति लागु हुने अपेक्षा गरेका पोखरेलीहरुले त्यस्तो कुनै अनुभूति गर्न नपाउनुको पछाडी यहि कुराले काम गरेको हो कि भन्ने प्रश्न समेत खडा भएको छ ।
संचारमन्त्री गुरुंगले पोखरामा नै आयोजना गरिएको लिटरेचर फेस्टिभलमा ‘पोखरालाई टुरिजम क्यापिटल अफ नेपाल’ भनिएपनि आजसम्म नेपाल सरकारले निर्णय नगरेको स्पस्ट पारे। ‘ नेपाललाई हल्लैहल्लाको देश भनेर पढेकै हो । यो पनि सरकारको क्याबिनेटले गर्नुपर्यो नि।’ क्याबिनेटले आधिकारिक निर्णय गर्नुपर्छ । त्यो काममा हामी सबै लाग्नुपर्छ।’ उनले थपे।