Play

कांग्रेसका उपसभापति एबम गाउँपालिका अध्यक्षद्वारा कांग्रेस सभापतिका भाई एबम पूर्व सांसदको छोरा कुटिए

गुरुकुल खबर


पोखरा, जग्गा सम्बन्धि विवादमा तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेका छन् । भीमाद नगरपालिका–६ मालेबगरमा रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठले आफ्नै घरमा बोलाएर कुटपिट गरेको आलेले बताएका छन ।

गाउँपालिका अध्यक्षको कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन उनका दाजु जीतप्रकाश आले गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री एबम तनहुँ कांग्रेसका सभापति हुन । आलेलाई कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका बहालवाला उपसभापति हुन। यसरि कांग्रेसको जिल्ला सभापतिका भाईले कांग्रेसको जिल्ला उपसभापतिबाट कुटाई खानुपरेपछि यो घटनाले तनहुँ कांग्रेस भित्र मात्र नभएर कांग्रेसको सबै तहमा निकै चर्चा पाएको छ

भीमाद मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए, त्यो जग्गाको विषयमा उनीहरुबीच ७/८ वर्षदेखिको विवाद थियो । विवादकै कारण श्रेष्ठले सहमति गर्न घरमा बोलाएर आफूलाई एक्कासी प्रहार गरेको आलेले बताए ।

‘त्यो जग्गाको विवाद मिलाउन भनेर उनलाई फोन गरेको थिएँ। उनले, ल घरमै आउ न त भने र उनको घर गएको थिएँ । तर एक्कासी आक्रमण गरे,’ आलेले भने, ‘मैले कसैमाथि हात उठाएको होइन, जाँदाजाँदा ममाथि अध्यक्षबाटै आक्रमण भयो। अब म कानुनी उपचारमै लाग्छु।’ आलेले भने । तर, दुवै जना एउटै पार्टी कांग्रेसमा रहेकाले जाहेरी नदिनका लागि पनि दबाब आइरहेको बुझिएको छ ।

यो घटना फागुन ७ गते रातिको हो। प्रहरीले जाहेरी लिन नमानेपछि मात्र घटना सार्वजनिक भएको हो। आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए। ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो। सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो।

विवाद टुंग्याउन खोज्दा आफूमाथि कुटपिट भएको उनले बताए। ‘मैले उहाँलाई फोनमार्फत लौ यो विषय टुंग्याम भन्दाखेरिमा उहाँले घर आइज न त भनेर भनेपछि मेरो उहाँसँग एक मिनेटमात्रै कुरा भाछ। तुरुन्त घर गएँ’, प्रभातले भने, ‘उहाँको श्रीमतिले ढोका खोल्नुभो। झड्याम झड्याम देब्रेपट्टि फिलामा पिभिसी पाइपले प्रहार गरेर कुट्नुभयो। मैंले दुई तीन पटक छेकें। उहाँले दुई हातले कानको जालीमा हानेर कान पनि नसुन्ने भएको छ।’

प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए। जिपी अस्पातलले थप परीक्षणका पोखरा रेफर गरेको उनले जानकारी दिए।

तर, श्रेष्ठले भने आँफुमाथि हातपात गरेपछि प्रतिकार गरेको दाबी गरेका छन। फागुन ७ गते बेलुका ८ बजेर ५५ मिनेटको समय आसपासमा प्रभात आफैंले फोन गरेको श्रेष्ठ बताउँछन्।

‘घरमै आएर तिमीलाई ठीक गर्छु। तिमीसँग मेरा वार कि पार हुन्छ भन्यो। त्यसो भए आउ न त, भनेर भनियो’, उनले भने। प्रभात आएपछि श्रीमति सुशीलाले ढोका खोल्दिएको श्रेष्ठले बताए।

‘ढोका खोल्दिएपछि मलाई झ्याप्पै टाउकोमा हान्यो। मैले हाँसेरै प्रभात जि तपाईंले हानी हाल्नुभो। त्यस्तो केही छैन मैले दिमागमा बसाउँदिन भनेर भनें। त्यतिभन्दा पनि ऊ गेटैबाट भित्र छिरेर श्रीमतीलाई समेत यताउता गर्न खोज्यो’, उनी भन्छन्, ‘त्यहाँबाट म बाहिर निस्केर त्यतिखेर आफ्नो रक्षा त गर्नपर्‍यो। पछि फेरि मलाई गालामा हानेपछि असह्य भएपछि मैले पाइपले हान्देको हो।’

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको बताए।  अनुसन्धान गरेर मात्र जाहेरी  लिने उनको भनाई थियो। प्रहरीसँग भन्दा पनि अदालतबाट सिधैं मुद्दा दर्ता गराउन सकिने थापाले बताए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा जसले पनि जाहेरी दिनेबित्तकै नलिइने  जानकारी दिए। ‘कुटपिटको विषयमा घाउ जाँच हुन्छ। घटनाको विषय लिएर बुझ्ने हो। घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गरिरहेको छ’, एसपी शाहीले भने।

१३ फाल्गुन २०८१, मंगलवार २१:१५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा