Play

एनआरएनएको एकता महाधिवेशनको सदस्यता सहितका काम गर्न उच्चस्तरीय समितिद्वारा वेबसाइट सार्वजनिक

गुरुकुल खबर


काठमाडौं, सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।

नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ ।

उच्चस्तरीय समितिमा डा. शेष घले संयोजक तथा डा. उपेन्द्र महतो, जिबा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा, कुमार पन्त, कुल आचार्य, रबिना थापा, बद्रि केसी, बिनोद कुँवर, जानकी गुरुङ र उमेश पुडासैनीलाई सदस्य राखिएको छ। उच्चस्तरीय समितिमा सदस्य रहेकी गैरआवासीय नेपाली संघकी पुर्ब अध्यक्ष रबिना थापा उक्त समितिको सदस्य सचिब एबम प्रचार संयोजक रहेको बुझिएको छ।

एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी)ले तोकेको दरअनुसार निर्धारण गरिनेछ । एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ । नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३–५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन् ।

महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ। इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्ने महाधिबेशन आयोजक समितिकी सदस्य सचिब रबिना थापाले जानकारी दिईन ।

एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घलेले गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन आग्रह गरेका छन्। उनले भने, ‘नोभेम्बर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरूको निर्णयअनुसार हामीले सदस्यता खुला गरेका छौं । यस पटक सम्पूर्ण सदस्यहरूले प्रत्यक्ष रूपमा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समिति चुन्ने ऐतिहासिक अवसर पाउनेछन् । त्यसैले, गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न सबैलाई सदस्यता लिन अपिल गर्दछु ।’

‘आगामी मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनले एनआरएनएमा निष्पक्षता, पारदर्शिता तथा प्रजातान्त्रिक सुशासन सुनिश्चित गर्ने भएको जानकारी दिंदै महाधिबेशन आयोजक समितिकी सदस्य सचिब रबिना थापाले गुरुकुल खबरसंग भनिन, “नयाँ विधान तथा नेतृत्व निर्माण गर्न सबैले महाधिवेशनलाई उत्सवको रूपमा मनाउनु आवश्यक छ ।”

सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले विवाद समाधान गर्दै एनआरएनएको वैधानिक कार्यसमिति निर्माण गर्ने लक्ष्य लिएको छ । समितिले आफ्नो कार्य सम्पादन गर्दा निष्पक्षता, प्राकृतिक न्याय, कानूनी शासन तथा निष्पक्ष निर्वाचनका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सम्बन्धित जानकारी तथा सदस्यता आवेदनका लागि  www.nrnahlc.com मा जान सकिने छ ।

२ फाल्गुन २०८१, शुक्रबार ११:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा